Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेकको २७औँ संस्करण माघ तेस्रो साता

क्यान इन्फोटेकको २७औँ संस्करण माघ तेस्रो साता


काठमाडौं । क्यान इन्फोटेकको २७औँ संस्करण माघ तेस्रो र चौथो साता काठमाडौंमा हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले वर्षेनी आयोजना हुँदै आएको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) इन्फोटेकको २७औँ संस्करण माघ १८ देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । सोको तयारी अगाडि बढाएको समेत क्यानले जनाएको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरुपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनी (व्यापार प्रदर्शन) को यो २७औँ संस्करण हो जुन छ दिनसम्म चल्ने क्यानका महासचिव नारायण थापाले बताए । यसको आयोजनाले कोभिडका कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षहरुलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको छ । यसबीचमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेकमा ल्याउने महासंघको प्रयास रहनेछ ।

क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आईसीटी एसेसरिज, गेम पार्लर, प्रडक्ट लन्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरु रहने गरी तयारी अगाडि बढाइएको छ । इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिष्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल इन्टेलिजेन्ससम्बन्धी जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् ।

सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता प्रचलन छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हुने विश्वास लिएको क्यानले जनाएको छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिने आयोजकहरुले बताएका छन् ।

सन १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेकोमा सन् २०२० मा इन्फोटेकको २६औँ संस्करण सफलतापूर्वक सम्पन्न भएको थियो । यसअघि वैशाखमा गर्ने भनिएको २७औँ संस्करण कोभिड–१९ को कारण स्थगित गएिको थियो । इन्फोटेकको २७औँ संस्करण गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने गरी सबै तयारी गरिएकोमा कोभिडको दोस्रो लहर काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरुमा व्यापकरुपमा फैलिएको तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस तथा निर्णयहरु, कोभिड नियन्त्रणसम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै सो कार्यक्रम स्थगन गरिएको हो । स्थगनको निर्णय क्यान इन्फोटेकका प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्श तथा क्यान महासंघको केन्द्रीय कार्यसमितिको बैठकद्वारा अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको थियो ।

इन्फोटेककै पूर्वसन्ध्यामा क्यान महासंघले मंसिर ३ गते शुक्रबार काठमाडौंमा गरेको बीटुबी आईसीटी बिजनेस समिट – २०२१ मा देशभरबाट सूचना तथा सञ्चार–प्रविधिसम्बन्धी व्यवसायीहरुको अभूतपूर्व जमघट, छलफल तथा इन्फोटेकको २७औँ संस्करणबारे व्यक्त चासोका कारण पनि आगामी क्यान इन्फोटेक अझ विशेष हुने अपेक्षा राखिएको महासचिव थापाले बताए । उनले क्यान इन्फोटेकको २६औँ संस्करण करिब साढे तीन लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोही वा बढी संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा रहेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया