Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआठौं घरजग्गा मेला वैशाखमा

आठौं घरजग्गा मेला वैशाखमा


काठमाडौं, माघ २१
राजधानीमा आगामी वैशाखमा आठौं घरजग्गा मेला हुने भएको छ । मेला वैशाख ४ देखि ७ गतेसम्म प्रदर्शनी हल भृकुटीमण्डप काठमाडौंमा आयोजना हुनलागेको सोमबार पत्रकार सम्मेलन गरी नेपाल घरजग्गा तथा आवास विकास संघले जानकारी दिएको छ । आठौँ घरजग्गा मेला आयोजक समितिका संयोजक विदुर धमलाले घरजग्गा व्यवसाय अहिले गाह्रो भएको बताए । सम्मेलनमा नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष भीममान श्रेष्ठले घरजग्गा व्यवसायले नेपालको कुल जीडिपीमा १२ प्रतिशतको योगदान गरेको बताए । उनले ८५ वटा सामूहिक आवास र ११५ वटा संयुक्त आवास आयोजनाले ४० हजार जनालाई प्रत्यक्ष रोजगारी र दुई लाख जनालाई अप्रत्यक्ष रोजगारी दिएको बताए ।

आफूहरु पूर्ण करको दायरामा रहेको जिकिर गर्दै उनले जग्गाका कित्ताकाट खुलेको छ, खुलेको पनि छैन भनेर व्यवसाय थला पर्न थालेको संकेत गरे । संघले यसअघि सातवटा मेलाहरु सम्पन्न गरिसकेको जानकारी दिएको छ । यसअघिका मेलाहरुमा प्रदर्शक, विज्ञापनदाता, दर्शक तथा सर्वसाधारणको उल्लेख्य सहभागिताका कारण मेला आयोजना गर्न हौसला प्राप्त भएको संघले बताएको छ । नेपाल जग्गा तथा आवास विकास संघबाट हरेक वर्ष आयोजना हुँदै आएको मेला यस पटक माईस ईन्टरन्यास्नल सर्भिस प्रा.लि. तथा सिन्थेसिस एक्जिबिसन एण्ड इभेन्ट्स प्रालिको संयुक्त व्यवस्थापनमा हुन लागेको आयोजकले जनाएको छ ।

मेलामा एक लाखभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । यस पटकको मेलामा भवन तथा संयुक्त आवास र जग्गा योजना तथा विकासमा आबद्ध व्यवसायीहरु, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टलगायतका स्वदेशी तथा विदेशी प्रदर्शकहरुका साथै बैंक र बीमा कम्पनीहरुसमेत सहभागी हुनेछन् ।

मेलामा भवन तथा संयुक्त आवास र जग्गा विकास सम्बन्धी आयोजनाका उत्पादन, विद्युतीय सरसामानहरु, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सेरामिक, सिसा, काठ, ढुँगा, आईरन, स्टिल, सिमेण्ट, सजिसजावटका सामान, तथा वास्तुकला, सौर्य ऊर्जा, फोहोर व्यवस्थापन, रियल इस्टेट एजेण्ट, निर्माण सामाग्रीका उत्पादन, आपूर्ति तथा वितरण जस्ता व्यवसायमा संलग्न व्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सोसम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने आयोजकले जनाएको छ । साथै, इच्छुक सहभागीहरुले मेला अवधिमा नै आफ्नो उत्पादन तथा सेवाहरुको शुभारम्भ गर्न चाहेमा सोको समेत व्यवस्था गरिने बताइएको छ ।

मेलामा रियल इस्टेट क्षेत्रको मुख्य सरोकारवाला मानिएका नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा विभाग र स्थानीय तह लगायतका अन्य नियमनकारी निकायहरुका प्रतिनिधिहरु समेत सहभागी हुने अपेक्षा गरिएको छ । मेला उपभोक्ताको इच्छा एवं छनोटको आधारमा समुचित मूल्यमा घरघडेरी तथा आवास उपलव्ध हुने गरी कारोबारलाई सरल, सुलभ, अनुमानयोग्य तथा व्यवस्थित बनाउन निकै उपयोगी हुने आयोजकको विश्वास रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया