Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगडिजिटल नेपालको गति सुस्त

डिजिटल नेपालको गति सुस्त


काठमाडौं माघ २२
सरकारले ल्याएको डिजिटल नेपालको गति सुस्त र धिमा किसिमको भएको सरोकारवालाहरुले बताएका छन् । एजेण्डा प्लसले आयोजना गरेको काठमाडौं डिबेटअन्तर्गतको डिजिटल नेपालको गति विषयक अन्तर्क्रिया कार्यक्रममा सरोकारवाला निकायहरुले डिजिटल नेपालको गति सुस्त भएको बताएका हुन् ।

कार्यक्रममा पूर्वमन्त्री इन्जिनियर गणेश शाहले डिजिटल नेपालको अभियान सही भए पनि यसको काम भने सुस्त गतिमा रहेको बताए । उनले डिजिटल नेपालको अभियानलाई सफल पार्न सबैको उत्तिकै भूमिका हुनुपर्ने भन्दै यसलाई स्पष्टरुपमा अगाडि बढाउनुपर्ने बताए । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य चन्द्रमणि चौलागाईँले नेपालमा सेवा सञ्चालन गर्न चाहने दूरसञ्चार सेवा प्रदायकहरुलाई नरोकिने बताए । उनले अहिले दूरसञ्चारको क्षेत्रमा भारतीय जियोको मोडल दीर्घकालीन किसिमको नभएको भन्दै नेपालमा दुई मोबाइल अपरेटरहरुको हालीमुहाली रहेको बताए । चौलागाईँले उदार नीतिभित्र नेपाल टेलिकम र एनसेलको मोनोपोली भएको स्पष्ट पारे ।

कार्यक्रममा इन्जिनियर एडा रिजालले अहिले नेपालमा उत्पादित जनशक्तिहरु खपत गर्नसक्ने अवस्था नभएको भन्दै नेपालभित्रै बस्ने वातावरण बनाउनुपर्ने बताइन् । उनले नेपालमा दूरसञ्चार सेवाहरु महंगो र गुणस्तरीय नभएको भन्दै त्यसलाई सबैको पहुँचमा पु-याउनुपर्नेमा जोड दिइन् । काठमाडौं डिबेटमा विज्ञको रुपमा बोल्दै पूर्वसहसचिव वीरेन्द्र कुमार मिश्रले डिजिटल नेपालको अभियान ठूलो स्तरमा भएको र यसका विभिन्न क्षेत्रहरुलाई छुट्टाछुट्टै रुपमा व्याख्या गरिनुपर्ने र त्यसलाई अगाडि बढाउनुपर्ने सुझाव दिए ।

क्यान महासंघ नेपालका पूर्वअध्यक्ष इन्जिनियर विनोद ढकालले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न नचाहँदा समस्या देखिएको भन्दै डिजिटल नेपाल यसअघि निजी क्षेत्रले ल्याएको इ–नेपालकै परिष्कृत रुप भएको दाबी गरे । उनले सरकारले हालै ल्याएका सूचना प्रविधि ऐनमा राम्रा प्रावधानहरु भए पनि अन्य विषयहरु अनावश्यक रुपमा राख्दा समस्या देखिएको बताए । त्यस्तै अधिवक्ता बाबुराम अर्यालले दूरसञ्चार सेवाप्रदायकहरु र सेवाग्राहीबीच देखिएको खाडललाई पुर्नुपर्ने आवश्यकता रहेको भन्दै कतिवटा कम्पनीहरु आवश्यक पर्दछ भन्नेबारे स्पष्ट हुनुपर्ने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया