Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रामीण बस्तीमा पनि इन्टरनेटको पहुँच विस्तार

ग्रामीण बस्तीमा पनि इन्टरनेटको पहुँच विस्तार


दोलखा । जिल्लाको ग्रामीण भेगमा पनि इन्टरनेटको पहुँच पुग्न थालेको छ । जिल्लाको बैतेश्वर गाउँपालिका, शैलुङ गाउँपालिका, तामाकोशी गाउँपालिका र जिरी नगरपालिकाको विभिन्न ग्रामीण भेगमा अप्टिकल फाइबर केवलमार्फत वितरण हुने एरो नेट धमाधम विस्तार भइरहेको छ ।

गत वर्ष चैतमा चरीकोट आइपुगेको अप्टिकल फाइबर केबलमार्फत वितरण हुने एरो नेट नौ महिनाको अवधिमा करिब एक हजार घर तथा कार्यालयले प्रयोग गरिसकेको एरो नेट दोलखाका प्राविधिक प्रमुख सुपरिम जोशीले जानकारी दिए । जोशीका अनुसार अहिले पनि जिल्लाको बैतेश्वर गाउँपालिका र शैलुङ गाउँपालिका इन्टरनेटको फाइबर तार टाङ्ने काम भइरहेको छ ।

गत वर्ष नै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जिल्लालाई एक वर्षभित्र स्मार्ट जिल्ला बनाउने घोषणा गरेका थिए । तर भर्खरै मात्र जिल्लाका ग्रामीण बस्तीमा इन्टरनेटको विस्तार हुन लागेको हो । एरो नेट कम्पनीले ग्राहक तथा उपभोक्ताको मागअनुसार इन्टरनेट जडान गरिरहेको छ । एरो नेटले बैतेश्वर गाउँपालिकाको बुस्ती, नाम्दु, काब्रे हुँदै मिर्गेसम्म सेवा विस्तार गरिसकेको छ ।

त्यसैगरी शैलुङ गाउँपालिकाले पनि ग्रामीण बस्तीमा पनि इन्टरनेटको पहुँच दिन अप्टिकल फाइबर केवलको तार तान्ने काम गरिरहेको छ । गाउँपालिकाले संघीय सरकारको एक करोड १५ लाख रूपैयाँ लागतमा टेन्डर प्रक्रियामार्फत सबै वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्थालाई स्मार्ट प्रविधिमा आधारित बनाउनका लागि इन्टरनेट सेवा विस्तार गर्ने काम जारी राखेको हो । पालिकाको विभिन्न वडामा विद्युतीय पोलमार्फत फाइबर तार टाँगेर विभिन्न ग्रामीण बजार तथा सरकारी कार्यालयमा नेट जोड्ने काम चलिरहेको छ ।

त्यस्तै तामाकोशी गाउँपालिकाको जफे, मालु, भिरकोटमा र जिरी नगरपालिकाको रातामाटे, सिक्री, खावालगायतका गाउँमा एरो नेट पुगेको एरो नेट चरीकोटका प्रमुख जोशीले बताए । जिल्लाका अन्य स्थानीयतहमा पनि यहीँ वर्षभित्र एरो नेट पुग्ने उनले बताए । दूरसञ्चार प्राधिकरण र टेलिकमले विस्तार गरिरहेको फाइबरमार्फत सरल तरिकाले नागरिकलाई इन्टरनेट सेवा दिने उद्देश्यले उपभोक्ताको मागअनुसार सुलभ शुल्कमा एरो नेट विस्तार गरिँदै लागिएको कम्पनी जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया