Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रम मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

श्रम मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना


काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको छ । मन्त्रालयले स्थापना गरेको उक्त कक्षको आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका छन् ।

मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितामा मार्सल टोली गठन गरी दोषीलाई कारबाही गर्न सुरु गरिएको बताए । वैदेशिक रोजगारीको नाममा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने श्रममन्त्री श्रेष्ठले प्रतिबद्धता समेत जनाए ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए । यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुकहरु, दक्षिणपूर्वी एसियाली मुलुकहरु, युरोपेली तथा अमेरिकी मुलुकहरु र अफ्रिकी महादेशका देशहरुमा गैरकानुनी रुपमा पु-याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि मन्त्री श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो ।

अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ । आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकीकरण गरी समाधान गरिनेछ भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइनेछ ।

कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमा कस्ता खालका समस्या र गुनासो आउँछन्, त्यसले सरकारलाई नीति निर्माणमा पनि सहयोग पुग्ने मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगीलगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थाउपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानुनबमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारबाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

यससम्बन्धी समस्या तथा गुनासो मन्त्रीको सचिवालयको मोबाइल नम्बरः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी चौबीसै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया