Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याब्लेट पाइने योजना

एनसेलले ल्यायो आगमन कलमा कुरा गर्दा ट्याब्लेट पाइने योजना


काठमाडौं । एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याब्लेट जित्ने मौका पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो ।

यो योजना मंगलबारबाट सञ्चालनमा आउने र १० दिनसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमनकलमा सबैभन्दा धेरै कुरा गर्ने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेनसहितको टीसीएल ट्याब१०एस पाउनेछन् । ग्राहकले उठाएको आगमनकलको कुल संख्या, औसत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिनेछ ।

मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याब जित्ने मौका पाउनेछन् । मलेसियाबाट आउने आगमनकलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् ।

मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशहरुबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरुले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क सुचारु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।

यस ट्याब्लेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यालय एनसेल आइकन, लैनचौर र काठमाडौंबाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ । यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्न लागेको छ । यस कार्यक्रममा गायक कालिप्रसाद बाँस्तोलाले आफ्ना प्रस्तुतिमार्फत गीतसंगीतको आनन्द दिनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया