Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान

फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान


काठमाडौं । नेपाल वायुसेवा निगमले इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा परीक्षण उडान गरेको छ । निगमकी प्रवक्ता अर्चना खड्काले बुधबार विज्ञप्ति जारी गरी परीक्षण उडान सफल भएको बताएकी छिन् ।

निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाइ सेवा दिने उद्देश्यका साथ बुधबार परीक्षण उडान गरेको हो । निगमको टिव्न अट्टर विमान काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ९ बजेर ५ मिनेटमा उडी इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बिहान १० बजेर २ मिनेटमा सकुशल अवतरण गरेको थियो । यस परीक्षण उडान गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले विशेष निर्देशन दिएको निगमले जनाएको छ ।

उक्त परीक्षण उडानको प्रतिवेदन तयार भएपश्चात् सुरक्षाका सम्पूर्ण सिफारिसहरु अवलम्बन गर्ने गरी निगमले नियमित उडान संचालनको तयारीको प्रक्रिया अघि बढाउने पनि जनाएको छ । उक्त सफल परीक्षण उडान सम्पन्न भएकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फबाट चालकदल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण समेतका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद दिएका थिए । निगमको तर्फबाट क्याप्टेन पेम्बा शेर्पा र रक्सित मल्लललगायतको प्राविधिक टोलीले यस विमानस्थलमा सफल उडान गराएका थिए ।

विमानस्थलको धावनमार्ग कालोपत्र भएपछि परीक्षण उडान गरिएको हो । यसअघि धावनमार्ग पक्की नभई तारा एयरले २०७५ सालमा परीक्षण उडान गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा जहाजलाई अवतरण गर्न करिब ५५ मिनेट समय लागेको निगमले जनाएको छ । ७०० मिटर लम्बाइ र ६० मिटर चौडाइको धावनमार्गसहित विमानस्थलको शिलान्यास २०६८ सालमा भएको थियो ।

समुद्र सतहबाट एक हजार १५० मिटर उचाइमा रहेको यो विमानस्थलमा प्रायः घाम लागिरहने भएकाले जहाज उडानका लागि उपयुक्त भएको बताइएको छ । यो विमानस्थलबाट जहाज उडान सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्ला र सीमापारि भारतको दार्जिलिङ, सिक्किमलगायतका बासिन्दाका लागि सहज हुने विश्वास लिइएको छ । तारा एयरले आगामी फागुन ८ गतेदेखि व्यावसायिक उडान गर्ने सम्बन्धमा इलाम नगरपालिकासँग सम्झौता समेत गरिसकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया