Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगेटवे पेमेन्टको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता

गेटवे पेमेन्टको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता


काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तराबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (यूपीआई नेपाल) सञ्चालनका लागि भारतस्थित एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकबीचमा अन्तराबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगल पे, फोनपे आदि) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्नसक्ने व्यवस्था गर्न लागिएको हो । साथै यस सेवाको सुरुवातसँगै भारतीयहरु नेपाल आउँदा क्यु–आर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्नसक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उक्त सेवाहरु सुचारु हुने र एनपीसीआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने कम्पनीले बताएको छ । उक्त सम्झौतामा गेटवे कम्पनीका तर्फबाट अध्यक्ष कमलनाथ प्रधान, एनपीसीआई इन्टरनेशनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।

अन्तराबद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित भुक्तानीको सञ्जाल यूपीआई भारतमा एनपीसीआईद्वारा सञ्चालनमा रहेको र त्यसले भारतको विद्युतीय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । यूपीआई नेपालले विद्युतीय भुक्तानीलाई अर्को श्रेणीमा लैजाने र नेपाललाई नगदरहित समाजमा रुपान्तरण गर्न ठूलो टेवा पु-याउने कुरामा विश्वस्त रहेको गेटवे कम्पनीले जनाएको छ ।

२१औँ शताब्दीमा विश्वभर डिजिटल प्रविधिको माध्यमबाट आर्थिक कारोबार भइरहेको सन्दर्भमा प्रविधिमा हासिल भएका उपलब्धिहरुको उपयोगमा नेपाल पनि क्रमिक रुपमा अगाडि बढिरहेको छ । बैंकिङ्ग प्रणालीमा प्रविधिको उपयोग गराई नेपाललाई विश्व मापदण्डअनुरुपको सेवा प्रवाह गराउने सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई ‘नगदरहित अर्थतन्त्र’तर्फ लैजान चलाइरहेको बृहत् अभियान र नेपाल सरकारको डिजिटल कारोबार कार्यान्वयन गर्ने नीति अंगीकार गरी यस कम्पनीले अन्तर्राष्ट्रिय कारोबारसहितको यूपीआई नेपाल प्रणाली सञ्चालन गर्न लागेको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया