Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकासले गति लिनसक्छ’

‘सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकासले गति लिनसक्छ’


काठमाडौं, माघ २६
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यावसायिक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुनसक्ने बताएकी छिन् । राष्ट्रपति निवास शीतलनिवासमा शुक्रबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गति लिनसक्ने बताइन् । निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधैँ सद्भाव रहँदै आएको उनको भनाइ थियो ।

समष्टिगत आर्थिक विकासका एजेण्डा, रोजगारी सृजना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने पनि राष्ट्रपति भण्डारीले बताइन् । भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महत्वपूर्ण रहेको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपाल सरकारसँग नेपाल उद्योग परिसंघले सघन सहकार्य गर्दै आएको पनि अध्यक्ष मोरले राष्ट्रपतिलाई जानकारी दिए । सरकार र व्यवसायी बीचको विश्वासको वातावरण बनाउन पर्ने र वातावरण बन्दा आर्थिक विकासमा थप मद्दत पुग्न जानेतर्फ अध्यक्ष मोरले राष्ट्रपतिको ध्यानाकर्षण गराए । यसैगरी परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवर्द्धनका लागि विभिन्न साझेदारहरुसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलनबारे पनि जानकारी गराएको थियो ।

सो अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, पदाधिकारीहरु, गभर्निङ्ग काउन्सिलका सदस्यहरु तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरुले उद्योगी व्यवसायीहरुले भोगेका कानूनी झन्झट, विद्युत् खपत बढाउने गरी महशुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रवद्र्धनमार्फत व्यापारघाटा कम गर्ने उपायहरुबारे धारणा व्यक्त गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया