Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगराष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य

राष्ट्रिय दादुरा–रुबेला अभियानमा एनसेल, स्वास्थ्य मन्त्रालय र युनिसेफको सहकार्य


काठमाडौं, फागुन २
एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै सरकारको राष्ट्रिय दादुरा–रुबेला अभियान २०७६÷७७ मा सघाउने भएको छ । यस बहुप्रतिक्षित खोप अभियानअन्तर्गत सरकारले नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३० लाख बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले यो अभियान दुई चरणमा लागू गर्नेछ ।

फागुन १ गते सुरु भई फागुन ३० सम्म सञ्चालनमा रहने पहिलो चरणअन्तर्गत प्रदेश नं. १, २ र ५ का बालबालिकालाई दादुरा र रुबेला खोप लगाइनेछ । त्यसैगरी दोस्रो चरण चैत १ गतेदेखि चैत ३० गतेसम्म सञ्चालन हुनेछ र यो चरणमा बाँकी प्रदेशहरु वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका बालबालिकालाई यी खोपहरु लगाइनेछ ।

‘दादुरा रुबेलाविरुद्धको खोप शतप्रतिशत बालबालिकालाई लगाउनका लागि जनचेतना अभिवृद्धि गर्न एनसेलबाट हामीलाई धेरै सहयोग प्राप्त भएको छ’, परिवार कल्याण महाशाखाअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने ।

‘राष्ट्रिय प्राथमिकतामा रहेको दादुरा रुबेला खोप अभियानअन्तर्गत खोपको महत्वका बारेमा जनचेतना अभिवृद्धिको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँ सहकार्य गर्न पाएकोमा हामी निकै हर्षित छौँ’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा रुबेला रोगका घटनाहरु निकैनै बढ्दो क्रममा रहेको देखाउँछ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार १२ देखि २३ महिनाका बालबालिकामा सबै खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्या २०११ मा ८७ प्रतिशत (२०११) रहेकोमा सन् २०१६ सम्ममा ७८ मा प्रतिशतमा घटेको छ ।

सरकारसँग एनसेलको यस सहकार्यले बालबालिकाको जीवन रक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निवारण गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पु-याउनेछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भीर प्रकारका जटिलताहरूजस्तै अन्धोपना, इन्सेफ्लाइटिस, पखाला र न्युमोनिया हुनका साथै मृत्यु समेत हुनसक्छ । रुबेलाले हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण, गर्भपतन वा मृत शिशु जन्मने र जन्मदै हुने विकलाङ्गजस्ता जटिलताहरु देखिनुका साथै मृत्यु समेत हुनसक्छ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत देशभर स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग २०७६ असोज १३ मा एक समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरुको प्राविधिक सहयोगमा राष्ट्रिय दादुरा रुबेला खोप अभियानको लागि सञ्चार तथा जनसचेतना अभिवृद्धिका लागि सरकारलाई सहयोग गरेको हो । यसअघि एनसेलले स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धिको सहकार्य अन्तर्गत डेङ्गीबारे जनसचेतना अभिवृद्धिको लागि सहयोग गरेको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया