Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिमालय एयरलाइन्सको टोली सगरमाथा शिखरमा

हिमालय एयरलाइन्सको टोली सगरमाथा शिखरमा


काठमाडौं । हिमालय एयरलाइन्सकी वरिष्ठ उडान परिचारिका सुश्री ओम्निका डंगोलसहितको सगरमाथा आरोहण टोलीले सन् २०२२ को मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको ऐतिहासिक आरोहण गरेको छ । स्थानीय समयअनुसार जेठ २ गते सोमबार बिहान ७ बजेर ३० मिनटमा थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनको आरोहण टोलीसँग हिमालय एयरलाइन्सकी उडान परिचारिका डंगोलले ८८४८.८६ मिटर अग्लो सगरमाथाको चुचुरो आरोहण गरेकी हुन् ।

साथै उनी शुक्रबार आरोहण सफल गरी काठमाडौं फर्किएकी छिन् । साथै कम्पनीको गैरीधारामा अवस्थित मुख्य कार्यालयमा हिमालय परिवारद्वारा उनलाई स्वागत गरिएको थियो । एयरलाइन्सद्वारा आयोजित स्वागत कार्यक्रममा हिमालय एयरलाइन्सका अध्यक्ष झो एन्योङ्ग र हिमालय टोलीले डंगोललाई स्वागत गर्दै यस गौरवको क्षणलाई एकसाथ मनाएका थिए । हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एयरलाइन्स एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरेको थियो । तत्पश्चात् एयरलाइन्सले आफ्नी उडान परिचारिका डंगोलका साथ विश्वको सर्वोच्च शिखर सफलतापूर्वक आरोहण गर्ने तयारीमा विशेष जोड दिएको थियो । डंगोलले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी छिन् ।

कम्पनीका अनुसार यो सगरमाथा आरोहण परियोजनाले चरम प्रतिकूल परिस्थितिका बाबजुद पनि हिमालयले देखाउने लगनशीलता र साहसको प्रतिकात्मक प्रतिनिधित्व गर्दछ । विगतका वर्षहरुमा हिमालयले धेरै चुनौती र अवरोधहरूको सामना गर्नुपरेको थियो । हिमालयले ती चुनौती र अवरोधहरूलाई दृढ इच्छाशक्ति र दृढ संकल्पका साथ पार गर्दै आएको जनाएको छ । परियोजना सफल रूपमा सम्पन्न भएपछि डंगोलले सर्वोच्च शिखरमा हिमालय एयरलाइन्सको प्रतिनिधित्व गर्न पाउनु गर्वको क्षण रहेको बताइन् । हिमालयको सगरमाथा आरोहण सन् २०२२ को अप्रिल १३ अर्थात् नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भएको थियो भने सन् २०२२ को मे १६ मा सफल शिखर आरोहणपश्चात् समापन भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया