Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइनड्राइभरद्वारा नेपालमा सेट—योर—अन—प्राइस राइड हेलिङ एप सार्वजनिक

इनड्राइभरद्वारा नेपालमा सेट—योर—अन—प्राइस राइड हेलिङ एप सार्वजनिक


काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरको रियल टाइम डिल्स(आरटीडी)मोडलमार्फत यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् । यसको बदलामा चालकहरुले आफ्ना लागि कुन राइड रिक्वेष्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने आफ्ना मूल्य समेत सुझाउन सक्नेछन् ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपहरु भन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्दछ । यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरुले चालकको ईटीए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्नेछन् । चालकले पनि कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले हाल आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेको र छिट्टै नै नेपालका मुख्य सहरहरुमा उपलब्ध गराउने बताइन् । कम्तीमा सेवा सञ्चालनको सुरुवाती छ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन नलिने उनको भनाइ छ । चालकहरुले प्रत्येक राइडको सम्पूर्ण शुल्क करबाहेक आफैँले प्रयोग गर्न पाउनेछन् । त्यसपछि लागू हुने कमिसन काठमाडौंमा चलेका अन्य राइडहेलिङ सेवा प्रदायकको भन्दा तुलनात्मक रुपले कम हुने उनको भनाइ छ । इनड्राइभरले हालसम्म नेपालमा चार हजारभन्दा बढी चालकहरुलाई साइन अप गरिसकेको नन्दाले जानकारी दिइन् ।

राइड रिक्वेस्ट बुक गर्न यात्रुले पिकअप तथा ड्रपअफ प्वाइन्टलगायतका जानकारी तथा अनुमानित शुल्क एपमा प्रविष्ट गर्नुपर्नेछ । सिस्टममा रजिस्टर भएका चालकहरुले तुरुन्त नोटिफिकेसन प्राप्त गर्ने र त्यसपछि अर्डर स्विकार गर्ने, अस्वीकार गर्ने तथा उक्त यात्राका लागि आफ्नो शुल्क तोक्न सक्नेछन् । इनड्राइभरको आरटीडी मोडलले चालक तथा यात्रुलाई सोझै शुल्क मोलमोलाइको सुविधा दिँदै शक्ति सर्वसाधारणलाई नै उपलब्ध गराएको छ । उदाहरणका लागि, एपमार्फत यात्रुले काठमाडौंको गोगबु बसपार्कबाट ललितपुरको सातदोबाटोसम्म यात्रागर्दा बढीमा दुई सय ७० रुपैयाँ तथा ठमेलबाट बौद्धनाथसम्म पुग्न एक सय ३० रुपैयाँ मात्र तिर्नुपर्ने हुन्छ ।

इनड्राइभरका सेवाहरु विश्वभरका ४२ देशका छ सय सहरमा उपलब्ध छन् । कम्पनीको एप १२ करोड पटक डाउनलोड भइसकेको छ । इनड्राइभरले अन्तर्सहर यातायात, फ्रेट तथा कार्गो सेवा तथा विभिन्न सञ्चालन सहरमा डेलिभरीलगायतका अन्य सेवा पनि प्रदान गर्दै आएको छ । इनड्राइभरको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा रहेको छ भने यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । यसले एक हजार सात सय जनालाई रोजगारी दिएको छ । २०२१ को सुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानीसहित युनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन एक अर्ब २३ करोड डलर गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया