Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान मेलामा बजारीकरणको प्रतिस्पर्धा

क्यान मेलामा बजारीकरणको प्रतिस्पर्धा


काठमाडौं, फागुन ६
भृकुटीमण्डपमा जारी सूचना प्रविधि प्रदर्शनी क्यान इन्फोटेकको चौथो दिन आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरुबीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यान समेत त्यस्तै स्टालतर्फ नै बढी छ ।

विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवा प्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ । प्रदर्शनीमा सेवामूलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भीड छ । तर, ठूला व्यावसायिक स्टलभन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

क्यान इन्फोटेकमा वल्र्डलिंक, भायनेट, एनसेल, नेपाल टेलिकम, स्मार्ट सेललगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् । ती कम्पनीहरुले सिमकार्ड वितरणलाई मुख्य प्राथमिकतामा राखेका छन् । दैनिक रुपमा देखिने चिजबिजभन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङ लगायतका नयाँ प्रविधि परेका छन् ।

प्रदर्शनी आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघका अध्यक्ष नवराज कुँवर नयाँ प्रविधिमै मानिस बढी अकर्षित रहेको बताए । ‘ठूला र महङ्गो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ,’ उनले भने । प्रदर्शनीमा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौं अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् । अवलोकनकर्ताले ती स्टार्टअपहरुले दिने सेवामा चासो देखाइरहेका छन् ।

प्रदर्शनीमा आएका रविकिरण उपाध्यायले क्यानको प्रदर्शनीबाट प्रविधिलाई बुझ्ने र नयाँ आएका प्रविधिलाई उपभोग गर्ने तरिकाको विषयमा जान्ने मौका पाएको बताए । प्रदर्शनीमा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टरलगायतका सामानमा विशेष छुट छ । केही ब्राण्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।

एक सय ७५ स्टल रहेको प्रदर्शनीमा इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, यूपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टल समेत छन् । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल, मोबाइल आदि समेत प्रदर्शनीका आकर्षणको रुपमा रहेका छन् ।

क्यान महासंघले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोँचलाई प्रवर्द्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताए । उनले क्यान इन्फोटेकबाट सरकारले लिएको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया