Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइलेक्ट्रोनिक तथा मोबाइल व्यापार खस्कँदै

इलेक्ट्रोनिक तथा मोबाइल व्यापार खस्कँदै


दोलखा । जिल्लामा करिब दुई सयको हाराहारीमा इलेक्ट्रोनिक तथा मोबाइल पसल रहेका छन् । कोरोना भाइरसको महामारीअघि दैनिक करोडौँको कारोबार हुने जिल्लाका ठूला इलेक्ट्रोनिक तथा मोबाइल व्यवसायीहरू अहिले व्यापार खस्कँदै गएपछि व्यवसाय छोड्ने कि गर्ने भन्ने अन्योलमा परेका छन् ।

सदरमुकाम चरीकोट बजारकै व्यापारीहरू कोरोनापछि व्यापार घटेकाले बैंकको किस्ता र घरभाडा तिर्न नै समस्या भएको बताउन थालेका छन् । अहिले बजार र व्यापार सुनसान बन्दा पसलको घरभाडा र बैंक, सहकारीको ऋण तिर्न समस्या भएको कम्प्युटर इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक तथा फोटो व्यवसायी संघ चरीकोटका कोषाध्याक्ष कुमार कार्कीले बताए । कार्कीले सदरमुकाम चरीकोटमा डिलरको रूपमा बेस मोबाइल सेन्टरबाट मोबाइलको कारोबार गर्दै आएका छन् । कोरोना महामारी सुरु हुनुअघि दैनिक पाँचदेखि आठ लाखसम्मको कारोबार हुने गरे पनि महामारीपछि मोबाइलको माग घटेकाले व्यापार पनि ह्वात्तै घटेको उनले बताए । चुनावको समयमा पनि आशातित व्यापार हुन नसकेको उनले सुनाए ।

इलेक्ट्रोनिक क्षेत्रको व्यापार घट्नुको मुख्य कोरोना महामारी, आर्थिक मन्दी र प्रतिस्पर्धाको रूपमा धेरैले एउटै व्यवसाय गर्नु रहेको उनको भनाइ छ । पछिल्लो समय मोबाइलको व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा मौलाएको उनले बताए । दोलखाको सदरमुकाम चरीकोट मात्र करिब सानाठूला तीन दर्जनभन्दा बढी मोबाइल व्यवसायी रहेका छन् । चरीकोटकै अर्का मोबाइल व्यापारी धिराज पाण्डे महामारीपश्चात् अन्य क्षेत्रको व्यवसायमा आंशिक सुधार देखिए पनि मोबाइलको व्यापार झनै खच्किँदै गएको बताउँछन् । बजारको चोकमै पसल भए पनि व्यापार दैनिक घट्दै गएको उनले सुनाए ।

जिल्लाका अन्य ग्रामीण बजारमा पनि मोबाइल तथा रेडियो घडी र टर्च लाइटको व्यापार ठप्प भएको व्यवसायीहरू बताउँछन् । जिल्लाको मैनापोखरी, जिरी, सिंगटी र माघादेउराली बजारमा पनि इलेक्ट्रोनिक क्षेत्रको व्यापार घट्दै गएको छ । दोलखामा कोरोनापछि फेन्सी व्यवसाय, होटल– रेस्टुरेन्ट र पर्यटन क्षेत्रको व्यवसायमा केही सुधार देखिए पनि इलेक्ट्रोनिकतर्फको व्यवसायमा सुधार आउन नसकेको व्यापारीहरूले बताएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया