Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल स्टार्टअप फेस्टमा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता

नेपाल स्टार्टअप फेस्टमा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता


काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेन्ट सीएनआईवाईएफ नेपाल स्टार्टअप फेस्ट २०२२ मा २४ करोड ५० लाख लगानीको प्रारम्भिक सम्झौता भएको छ । शनिबार काठमाडौंस्थित होटेल सोल्टीमा भएको स्टार्टअप फेस्टको अन्तिम प्रतिस्पर्धामा पुग्न सफल स्टार्टअपसँग प्रारम्भिक लगानीको सम्झौता भएको हो ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले स्टार्टअप फेस्टमा सहभागी हुन परियोजनासहित लगानी प्रस्ताव आह्वान गरेको थियो । नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा देशभरबाट तीन सय बढी परियोजना प्रस्ताव आएको थियो । त्यसमध्ये अन्तिम छनौटमा परेका परियोजनाहरुलाई फेस्टमा आफ्नो प्रस्तुति गर्ने अवसर दिइएको थियो । उक्त प्रस्तुतीकरणपछि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको उपस्थितिमा लगानीकर्ताले ती परियोजनामा इक्विटी लगानी गर्न प्रारम्भिक सम्झौता गरेका हुन् । स्वपुँजी लगानीसम्बन्धी प्रारम्भिक सम्झौता भएका स्टार्टअपहरुमा भक्सक्रो, स्किल सेवा प्राइभेट लिमिटेड, टिम बेदा, खेती, डार्कम्याटर गेम प्रडक्सन, डिजिटल एज नेपाल, डक्टर्स अन कल रहेका छन् । यी स्टार्टअपमा टीम भेन्चर्स, ग्लोबल इक्विटी फन्ड, अध्यान्ता फन्ड म्यानेजमेन्ट, हिमालयन क्यापिटल र टेलिभेन्चर पार्टनरले प्रारम्भिक लगानी सम्झौता गरेका हुन् ।

स्टार्टअप फेस्टको समापनमा अर्थमन्त्री जनार्दन शर्माले अन्तिम छनौटमा परेका परियोजनाहरुलाई अवार्ड प्रदान गरेका थिए । कार्यक्रममा उनले बजेटले स्टार्टअपलाई प्राथमिकतामा राखेको पनि बताए । यसअघि कार्यक्रमको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गरेका थिए । सो क्रममा मन्त्री बडुले आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यलाई सरकारले उच्च प्राथमिकता दिएको र युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताएका थिए । कार्यक्रममा परिसंंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्टार्टअपहरुलाई सबैभन्दा ठूलो चुनौती लगानीको रहेकोले नविन सोच भएका स्टार्टअपहरुलाई लगानी जुटाउने उद्देश्यले नै फेस्ट आयोजना गरिएको जानकारी दिए । युवा उद्यमीहरुलाई पुँजीको कारण मात्रै उनीहरुको नवीन सोच मर्न दिन नहुनेमा उनले जोड दिए । यस्तै उनले राष्ट्रिय योजना आयोगले तयार पारेको स्टार्टअप उद्यम प्रवर्द्धनका लागि अनुदान तथा कर्जा प्रवाह कार्यविधि २०७८ तत्काल पास गरी कार्यान्वयनमा लैजान आग्रह गरे ।

स्टार्टअप फेस्ट राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको समेत सहयोगमा आयोजना गरिएको हो । नेपालमा स्टार्टअपलाई अभियानका रुपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रुपमा स्थापित गराउन नवप्रवर्तनकारीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो । ४० बढी स्टार्टअप्सले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गरेको स्टार्टअप फेस्टमा रोबोटिक फुटबल, रोवो वार, लाइभ म्युजिकल कन्सर्टलगायतका कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । नेपालकै सबैभन्दा ठूलो स्टार्टअप फेस्टमा पाँच हजार बढी युवाहरुको सहभागिता थियो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया