Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगठेक्का सम्झौता भएको छ वर्ष बितिसक्दा पनि तामाकोशीे नदीको पुल बनेन

ठेक्का सम्झौता भएको छ वर्ष बितिसक्दा पनि तामाकोशीे नदीको पुल बनेन


दोलखा । जिल्लाको सदरमुकाम चरीकोट हुँदै जिरी जोड्ने मुख्य सडक निर्माणसम्पन्न भए पनि सोही सडकखण्डअन्तर्गत पर्ने तामाकोशी नदीको पुल भने निर्माण हुनसकेको छैन । सडक निर्माण सुरु गरेको तीन वर्षमै सम्पन्न भए पनि पुल भने ठेक्का सम्झौता गरेको छ वर्ष बितिसक्दा पनि निर्माण हुन नसकेको हो ।

ठेकेदारको लापरबाहीका कारण अहिले सो नदीको पुल अलपत्र अवस्थामा छ । जिल्लाको भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा पर्ने यस पुलको निर्माणको लागि २०७३ भदौमा ठेक्का सम्झौता भएको थियो । करिब साढे दुई वर्षको अवधि काम सक्ने गरी पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी मिलगिरी नेशनल जेभीले सरकारले दुईपटक समय थप गरिदिँदा समेत बनाएको छैन । करिब ४० वर्षअघि चरीकोट जिरी सडक निर्माण गर्दा बनाएको पुरानो पुल अहिले चारैतिरबाट चिरा परेर जीर्ण अवस्थामा पुगेको छ ।

पुरानो पुल जीर्ण अवस्थामा पुग्दा समेत ठेकेदार कम्पनीले पुल निर्माण गर्न चासो नदिएको स्थानीयले दुःखेसो गर्नथालेका छन् । निर्माण कम्पनीले हालसम्म पुलको जग र पिलरबाहेक अन्य संरचना बनाउनसकेको छैन । समयमा पुल निर्माण नहुँदा तामाकोशी, जिरीमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरका सयौँ टन सामना यहीँ पुरानो जीर्ण अवस्थामा पुगेको पुलबाट ढुवानी हुँदै आएको छ । पुलको क्षमताभन्दा बढी सामान बोकेका सवारी उक्त पुलबाट हिँडाउँदा कुन बेला भएको पुल भत्किने हो टुङ्गो छैन ।

वर्षा लागेसँगै तामाकोशी नदीमा पानीको अत्यधिक वहाव बढ्ने गर्छ । वर्षामा नदीबाट सवारी ओहोरदोहोर गर्न नसक्ने हुँदा पुलले धान्नसक्ने क्षमताभन्दा बढी लोड बोकेर दैनिक सवारी ओहोरदोहोर गरिरहेका छन् । तामाकोशी नदीमा रहेकोे पुलको क्षमता २८ टन हो तर यस पुलमा हिजोआज हाइड्रोपावरको सामना बोकेका ४० देखि ७० टनसम्मका ठूला सवारी राति–राति ओहोरदोहोर गर्ने गरेको बैतेश्वरका स्थानीय तेन्जिङ लामाले बताए ।

गत शुक्रबार मात्र एक हाइड्रोपावरको ४८ टन सामान बोकेको गाडी स्थानीयको आँखा छलेर स्थानीय प्रशासनले सो पुलबाट किर्ने पठाएको उनले बताए । नौ करोड ७४ लाख ९६ हजार लागतमा २०७५ भदौै ५ गते पुल निर्माणसम्पन्न गर्ने गरी पुल योजना महाशाखासँग निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

२०७४ मा ठेक्का सम्झौता गरेर निर्माण सुरु गरेको चरीकोट जिरी ५५ किलोमिटर सडक खण्डको निर्माण सकिए पनि निर्माण कम्पनीको हेलचेक्र्याइँका कारण तामाकोशी नदी पार गर्ने ७५ मिटरको पुल भने अलपत्र बनेको हो । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया