Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ

फर्निचर एक्स्पोका अधिकांश स्टल बुकिङ


काठमाडौं । राजधानीमा आयोजना हुनलागेको आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को अधिकांश स्टल बुकिङ भएका छन् । एक्स्पोमा सहभागी हुनका लागि स्टल बुकिङ गर्ने क्रम करिब अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

यही भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुनका लागि भारत तथा बंगलादेशका समेत प्रदर्शकहरुले स्टल बुकिङ गरेको एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने एक्स्पोमा कुल एक सय १० स्टल रहनेछन् । जसमा मुख्य प्रदर्शनी हलमा ५० र बाहिर तयार हुने ह्याङ्गरमा ६० स्टल स्टल बन्नेछ । इभेन्ट सोलुसनका प्रबन्धनिर्देशक विजय सागर प्रधानका अनुसार मुख्य हलका सबै स्टल बुक भइसकेका छन् भने ह्याङ्गरका केही स्टल मात्र बाँकी छन् । एक्स्पोमा सहभागी हुन चाहनेहरुलाई समयमा नै स्टल बुकिङ गर्न पनि प्रधानले आग्रह गरेका छन् ।

एक्स्पोले चलायमान हुन खोजिरहेको अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास आयोजक फर्निचर तथा फर्निसिङ संघको छ । संघका अध्यक्ष शुभेन्द्र जोशीका अनुसार चाड पर्वको मौसम चल्दै गर्दा घर तथा कार्यालयको फर्निचर अपग्रेड गर्नेहरुका लागि एक्स्पो उचित गन्तव्य बन्नेछ । झण्डै डेढ वर्ष फर्निचरजन्य व्यवसाय ठप्पप्रायः अवस्थामा रहेर अहिले सामान्य अवस्थामा फर्किरहेको बेला एक्स्पोले व्यवसायी र उपभोक्तालाई उचित प्लेटफर्मको भूमिका निर्वाह गर्ने छ’, जोशीले भने, ‘यति मात्र नभई एक्स्पोले आर्थिक कृयाकलाप चलायमान बनाउन पनि योगदान पुर्याउने विश्वास लिएका छौँ ।’ पाँच दिनसम्म चल्ने एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मुख्य आकर्षणका रुपमा रहनेछन् ।

आठौँ संस्करणको एक्स्पोलाई प्रेस्टिज कार्पेटले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी जानसा कार्पेट, हलेसी डेकोर र भिवोन चेयरले एक्स्पोलाई मुख्य प्रायोजन गरेका छन् भने डिजी पे डिजिटल पार्टनर रहेको छ । एक्स्पो अवलोकनका लागि १०० रुपैयाँ शुल्क लाग्नेछ भने डिजी पेका प्रयोगकर्ताले १० गोल्ड क्यास रिडिम गरेर एक्स्पोको पास पाउन सक्छन् । एक्स्पो प्रवेशद्वारमा राखिएको व्यक्तिगत विवरण संकलन केन्द्रमा माग गरिएका आफ्नो वास्तविक विवरण भरेर निःशुल्क एक्स्पो अवलोकन गर्न सकिन्छ । कार्यक्रममा सहभागी हुने प्रदर्शक तथा अतिथिहरुलाई एक्स्पोको प्रवेश पास डिजी पेमार्फत नै उपलब्ध गराइने इभेन्ट सोलुसनले जनाएको छ । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्स तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासंघ, आइडिया नेपाल र स्पेस म्यागेजिनले सपोर्ट गरेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया