Techie IT
×
गृहपृष्ठकर्पोरेटअनलाइन संस्कार कक्षालयको शुभारम्भ

अनलाइन संस्कार कक्षालयको शुभारम्भ


काठमाडौं । बालबालिकालाई असल संस्कार सिकाउने अनलाइन कक्षा ‘संस्कार कक्षालय’ को शुभारम्भ गरिएको छ । सुसंस्कार र योगका अभियन्ता डा. राजु अधिकारीको अग्रसरतामा सुरु भएको संस्कार कक्षालयको फ्रान्सेली लेखक डा. म्याथ्यु रिचार्डको उपस्थितिमा गत शुक्रबार भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको हो ।

हरेक शनिबार र आइतबार बिहान ७ः३० देखि ९ः३० बजेसम्म र दिउँसो २ः३० देखि ४ः३० बजेसम्म अनलाइनमार्फत बालबालिकाका लागि संस्कार कक्षालय सञ्चालन हुने बताइएको छ । उक्त कार्यक्रममा डा. रिचार्डले शिक्षा लिनुको मुख्य उद्देश्य नै असल मानव बन्नुरहेको भन्दै असल शिक्षाले नै मानिसलाई खुसी राख्न मद्दत पुग्ने बताए । आफ्नै स्वार्थका लागि मात्र सोच्ने व्यक्ति जीवनमा कहिल्यै सफल हुन नसक्ने उनको भनाइ थियो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले आफ्नो व्यवहारमा लागू गरेर मात्र संस्कार सिकेको अर्थ रहने बताए । संस्कार कुनै उमेर समूह र समयका लागि मात्र नभएर सबै र सधैँका लागि अत्यावश्यक रहेको उल्लेख गरे । कार्यक्रममा अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराईले बालबालिकाको पहिलो पाठशाला भनेकै आफ्नो घर भएकाले संस्कार घरबाटै सुरु हुनुपर्ने बताइन् ।

शनिबारबाट सुरु भएको संस्कार कक्षालयमा असल संस्कार, संस्कारयुक्त दिनचर्या, बाल–योगाभ्यास, संस्कार प्रार्थना र श्लोकहरु, स्मरण शक्ति, एकाग्रता, मातापितालाई सम्मान, असल बानी व्यवहारलगायत विषयहरु समेटिने डा. अधिकारीले बताए । आधुनिक शिक्षा प्रणालीले कुनै पनि व्यक्तिलाई पेशागत सफलतामा पु-याए पनि सुसंस्कार सिकाउन नसक्दा मानवीय मूल्य–मान्यताहरु नै संकटग्रस्त बन्दै गएको उनको भनाइ छ । अभिभावकले आफ्ना छोराछोरीहरुलाई सानै उमेरदेखि असल संस्कार दिलाउन आवश्यक रहेको र त्यसका लागि संस्कार कक्षालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको दाबी छ । संस्कार प्रशिक्षक विमल कोइरालाले विषयगत ज्ञानले दिमागलाई शिक्षित गर्ने र संस्कारयुक्त ज्ञानले हृदयलाइ प्रशिक्षित गर्ने बताए ।

पहिलो चरणमा पाँचदेखि नौ वर्षसम्म, नौ वर्षदेखि १२ वर्षसम्म र १२ वर्षभन्दा माथिका गरी तीन समूहमा विभाजन गरी संस्कार शिक्षा, योग विज्ञान, जीवन व्यवस्थापन तथा वैज्ञानिक आध्यात्मिकताजस्ता विषयका विषेशज्ञहरुमार्फत नेपाली भाषी बालबालिकालाई अनलाइनबाट संस्कार कक्षा प्रदान गरिनेछ । यस कक्षालयमा विश्वका जुनसुकै स्थानमा बसोबास गर्ने नेपालीभाषी बालबालिकालाई अनलाइन कक्षामा समेटिनेछ ।


क्याटेगोरी : कर्पोरेट

तपाईको प्रतिक्रिया