औद्योेगिक पूर्वाधारमा विदेशी लगानी बढाउन नीतिगत सुधार आवश्यक
काठमाडौं । औद्योगिक पूर्वाधारमा लगानी बढाउन सोहीअनुसारको नीति हुनुपर्ने विज्ञहरुले बताएका छन् । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित चौथो पूर्वाधार सम्मेलनमा परिसंघका पूर्वअध्यक्ष समेत रहेका उद्योगी हरिभक्त शर्माले औद्योगिक क्षेत्रमा सरकारले न्यूनतम सुविधा समेत उपलब्ध गराउन नसकेको बताए ।
श्रमिकदेखि माथिल्लो तहका कर्मचारीहरुमा दक्षता समेत अभाव रहेको उनको भनाइ थियो । ‘हामीहरुले औद्योगिक क्षेत्रमा पूर्वाधारहरु बनायौँ तर सञ्चालनका लागि गुणस्तरीय विद्युत् उपलब्ध गराउन सकेनौँ’, शर्माले भने, ‘विद्युत् आपूर्ति सहज नहुँदा डिजलको खपत बढेको छ भने यसले उत्पादन लागत समेत बढाएको छ ।’ यस्तै उनले यस्ता क्षेत्रमा लगानी बढाउनका लागि पीपीपी मोडलमा जानुपर्ने र विदेशी लगानी बढाउन सक्नुपर्ने बताए । शर्माले प्रत्येक प्रदेशमा कम्तीमा एउटा औद्योगिक क्षेत्र निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिए । सम्मेलनमा उद्योग सचिव तोय नारायण ज्ञवालीले औद्योगिक क्षेत्रमा विदेशी लगानी बढाउन पहल गर्नुपर्ने बताए । हालसम्म नेपालमा ९० वटा मुलुकबाट विदेशी लगानी आएको उनको भनाइ छ ।
पाँच हजारभन्दा बढी प्रोजेक्टमा चार खर्ब रुपैयाँ लगानी आएको देखिएको भन्दै उनले यो विदेशी लगानी निकै कम भएको उल्लेख गरे । ज्ञवालीले रेमिट्यान्सबाट प्राप्त हुने विदेशी मुद्राको ७० प्रतिशत रकम पेट्रोल र कृषिजन्य वस्तुको आयातमा र बाँकी ३० प्रतिशत रकम नेपालबाट रेमिट्यान्समार्फत छिमेकी मुलुकमा गइरहेको बताए । विदेशी लगानी बढाउन लगानीमाथिको सुरक्षा, प्रतिफल र पुँजीवृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो ।
विशेष आर्थिक क्षेत्र विकास प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले उद्योगी तथा लगानीकर्ताहरुका लागि पूर्वाधार निर्माणका साथै फिस्कल र नन–फिस्कल सबैमा सहुलियत दिएको बताए । भट्टले सेजमा आउने उद्योगहरुलाई पाँच वर्षसम्म आयकरमा पूर्णरुपमा छुट दिएको जानकारी दिए । साथै २५ वर्षसम्म आयकरमा २५ प्रतिशत छुट र ३० देखि ३५ वर्षसम्ममा ५० प्रतिशत आयकरमा छुट दिएको उनको भनाइ छ । लाभांश वितरणमा समेत सहुलित दिएको भन्दै उनले सेजमा उद्योगलाई आकर्षित गर्नका लागि कैयौँ सेवा तथा सुविधा दिएको बताए ।
सम्मेलनमा सूर्य नेपाल प्रालिका प्रबन्धनिर्देशक रवि रायावरमले नेपालमा उद्योग स्थापनाका लागि कानुनी अड्चन भएको बताए । उद्योग स्थापनाका लागि कानुनी प्रक्रियामा हुने ढिलाइका कारण उद्योगीहरुले समस्या भोगिरहेको उनको भनाइ थियो । ‘हामीले बिस्कुट उद्योगका लागि केही वर्ष पहिले प्रयास गर्यौ तर अनुमति प्राप्त गर्नका लागि हामीलाई एक वर्षभन्दा बढी समय लाग्यो’, उनले भने, ‘कानुनी रुपमा प्रक्रिया सहज भयो भने उद्योगीहरुलाई फाइदा पुग्छ ।’
इकोनोमिक डेभलपमेन्ट एण्ड इन्फ्रास्ट्रक्चर, पीडब्ल्यूसी इन्डियाका निर्देशक सुजय सेट्टीले नेपाल औद्योगिक पूर्वाधार क्षेत्रमा लगानीका लागि युनिक देश भएको भन्दै लगानीको राम्रो सम्भावना भएको बताए । नेपालमा विदेशी लगाानी ल्याउनका लागि आफ्नो प्राथमिकताका क्षेत्रहरु पहिचान गर्नुपर्नेमा उनले जोड दिए । विशेष गरी नेपालका उद्योगहरुले निर्यात र रोजगारी बढाउन, विदेशी लगानी आकर्षित गर्न र अन्तर्राष्ट्रियस्तरको पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने उनको भनाइ थियो ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया