Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगदिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी


मुस्ताङ । वन तथा वातावरण मन्त्रालयद्वारा मुस्ताङमा आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ मुस्ताङ पैरवी सम्मेलन मुस्ताङ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

मंगलबारदेखि सुरु भएको उक्त सम्मेलनले बुधबार दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी गरेको हो । सम्मेलनले दिगो पर्वतीय विकासका लागि जलवायु परिवर्तन, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता, पर्वतीय महिला, पर्वतीय संस्कृति र पर्वत–समथर अन्तर्सम्बन्धलाई अलग–अलग र एकीकृृतरुपमा सम्बोधन गर्दै आफ्ना नीति, कार्यक्रम, बजेट तथा अभ्यासमा आन्तरिकीकरण गर्न नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई अपिल गरेको छ । यसैगरी संसारको सबैभन्दा अग्लो पर्वत शृंखला भएको मुलुकका नाताले त्यस्ता मुलुकसँग हातेमालो गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय देशका सवाल र समाधानका उपायलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारलाई उक्त सम्मेलनले अनुरोध समेत गरेको छ ।

पर्वतीय विषयलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समन्वय, साझेदारी र सहकार्यसमेत आवश्यक पर्ने हुँदा हिन्दूकुश पर्वतीय क्षेत्रका देशबीचमा मन्त्रीस्तरीय क्षेत्रीय परिषद् गठनका लागि पहल गर्न हिन्दूकुश हिमाली क्षेत्रका देशलाई सम्मेलनले आह्वान गरेको छ । नेपालजस्ता पर्वतीय मुलुकका लागि दिगो विकास लक्ष्य हासिल गर्न पर्वतीय मुद्दालाई विशेषरुपमा सम्बोधन गर्नुपर्ने सम्मेलनले आवश्यकता समेत महसुस गरेको छ ।

नेपाल सरकारबाट प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय समुदाय तथा विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदारसँगको समन्वयमा अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ को सन्दर्भमा मंगलबार र बुधबार मुस्ताङमा दिगो पर्वतीय समाधानका लागि मुस्ताङ पैरवी सम्मेलन आयोजना गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया