Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा जोड’

‘इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा जोड’


काठमाडौं । नेपालमा इन्धनबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपालमा विद्युतीय सवारीलाई प्रोत्साहान र प्रवर्द्धन गर्न नाडा ईभी अटोमा आयोजना भएको ईभी चौतारी छलफलमा सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा सिप्रदी प्रालिका ईभी ट्रेनिङ हेड दिपेश पौडलेले नेपालमा विद्युतीय सवारीसाधन भित्रिँदै गर्दै धेरै प्राविधिक अन्योलता देखिएको बताए । टेक्निसियन वा सवारीधनीले इन्जिनमा आधारित भएर काम गरिरहेको मान्छे इलेक्ट्रिकतर्फ मोडिनुपर्दा प्रविधिकरूपमा कठिनाइ व्यहोर्नुपरिरहेको उनको भनाइ छ । अन्य देशबाट इन्धनबाट चल्ने गाडीलाई नै विद्युतीयमा रूपान्तरण भएरै गाडीहरू आए पनि नेपालमा विद्युतीय भन्नेबित्तिकै माइन्डसेट नै परिवर्तन भएको उनले बताए । उनले ईभीमा तीन सय भोल्टमाथि नै काम गर्नुपर्ने भएकाले सेफ्टीमा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए । त्यसैगरी कार्यक्रममा काठमाडौं विश्वविद्यालयकी रिसर्चर सिल्पा श्रेष्ठले नेपालको माटो सुहाउँदो विद्युतीय सवारीसाधनको विकास हुनुपर्नेमा जोड दिइन् । ‘नेपालको भोगोलिक अवस्थालाई पनि ध्यान दिएर नेपालमा विद्युतीय सवारीसाधनको विकासलाई प्रोत्साहन गनुपर्ने अहिलेको आवश्यकता हो’, श्रेष्ठले भनिन्, ‘हामीलाई कस्ताखालका ईभी आवश्यक पर्ने हो, नेपालको आवश्यकता के हो यी विषयमा पनि अध्ययन हुनुपर्छ’ ।

नेपालमा हाल गुडिरहेको इन्धनबाट चल्ने सवारीको व्यवस्थापनका लागि पनि विद्युतीय सवारीमा रूपान्तरण गर्न सरकारी तवरबाटै काम हुनपर्ने उनको भनाइ थियो । त्यसैगरी मेकानीकल इन्जिनियर अभिषेक कार्कीले नेपालमा इन्धनबाट चल्ने सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न अध्ययन र रिसर्च कम भइरहेको बताए । ‘नेपालमा एउटा गाडीलाई मात्रै विद्युतीयमा रूपान्तरण गर्छौँ भन्यो भने लागत धेरै बढी छ’ अभिषेकले भने ‘इन्धनबाट विद्युतीयमा सवारीसाधनलाई रूपान्तरण गर्न सरकारले नै सहयोग गर्नुपर्छ ।’ सरकारले पनि २०३० सम्म आधाभन्दा बढी सवारी ईभीमा रूपान्तरण भइसक्ने घोषणा गरे पनि तत्काल त्यो सम्भव नभएको उनको भनाइ छ । ‘नेपालमा ईभीको पहुँच गाडी आयात गरेर मात्रै हुने होइन, नेपालमै भएका गाडीलाई विद्युतीयमा रूपान्तरण गर्नुको विकल्प छैन’, उनले भने । नेपालमा वर्षको निश्चित गाडीलाई विद्युतीकरण गर्छौँ भनेर लक्ष्य लिए मात्रै नेपालमा ब्याट्री उत्पादनको सम्भावना खुल्ने उनको दाबी छ । इन्धनका सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न सेग्मेन्ट छुट्याएर अघि बढ्नुपर्ने उनी बताउँछन् ।

त्यसैगरी विद्युतीय सवारी चार्जिङ परियोजनाका आयोजना प्रमुख सागरमणि ज्ञवालीले पछिल्लो समय विद्युतीय गाडी लिए पनि चार्जिङ गर्न समस्या भइरहेको बताए । उनले अब लङ ड्राइभको लागि सरकार र निजी क्षेत्रले फास्ट चार्जर राख्नुपर्ने आवश्यकता औँल्याए । पछिल्लो समय नेपाल आएका गाडीहरू फास्ट चार्जिङ गाडी आएकाले फास्ट चार्जिक वरदान नै हुने उनको दाबी छ । निजी क्षेत्र र सरकारी तहबाटै सार्वजनिक यातायातमा विद्युतीकरणमा ध्यान गएको नपाइएको उनको भनाइ छ । ईभी चौतारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर डिभिजन मेकानीकल इन्जिनियर शंकर सिंह धामीले नेपालमा हालसम्म आएका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा सिफ्ट गर्नुपर्ने विषय नै मुख्य चुनौतीको विषय रहेको बताउँछन् । सरकारले पनि सवारीसाधनलाई विद्युतीयमा सिफ्ट गर्न आवश्यक नीति बनाइदिनुपर्ने उनको भनाइ छ । अब नेपालमा निजी इर्भिलाई भन्दा पनि पब्लिक गाडीतर्फ नै केन्द्रित हुनुपर्ने धामीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया