Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा

भृकुटीमण्डपमा जुत्ता मेलाको प्रतिस्पर्धा


काठमाडौं । राजधानीको भृकुटीमण्डपमा छालाजुत्ता उत्पादक संघ र केही ब्राण्डहरु सम्मिलित जुत्ताचप्पल मेला चलिरहेका छन् । दशैंका अवसरमा मेला गरेको भनिए पनि यस्तो मेला नयाँ वर्ष लागेपछि साउनको एक महिनाबाहेक अविच्छिन्न रुपमा चलिरहेका छन् ।

मेला गर्ने नगर्ने भन्नेमा उत्पादकहरुबीच भने लामो समयदेखि विवाद चलिरहेको छ । मेलाले सर्वसाधारण उपभोक्ता भने फाइदामा छन् । जुत्ताचप्पल उत्पादक र बिक्रेताबीचकाले खाने कमिसन नलाग्दा उत्पादकले सिधै उपभोक्तालाई बेच्न पाएका छन् । उपभोक्ताले मेलामा विभिन्न ब्राण्डका छानीछानी सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् । केही जुत्ताचप्पल उत्पादकले मेलाकै लागि भनेर जुत्ता उत्पादन गर्दै आएका छन् । उनीहरु दुई महिना जुत्ता उत्पादन गर्छन् अनि एक महिना मेलामा बस्छन् । जुत्ता मेला हुने स्थल भनेर भृकुटीमण्डपको सानो चौरको ब्राण्डिङ नै भइसकेको छ । शिखर सुजलगायतका जुत्ता कम्पनीले भृकुटीमण्डपमा मेला लगाउँदै आएका थिए । त्यसको विरोधमा जुत्ताचप्पल उत्पादकहरुको छाता संगठन आफैँ विरोधमा उत्रिएको थियो ।

संघका तत्कालीन अध्यक्ष रविन श्रेष्ठले त्यसको नेतृत्व गरेका थिए । त्यसपछि जुत्ताचप्पल उत्पादकहरुको गुट बन्न थाल्यो । ती गुटहरु घरी एउटासँग अर्को, घरी अर्कोसँग तेस्रो उद्योग मिलेर मेलामा सहभागिता जनाउन थाले । सदावहार मेला हुन थालेपछि मेलामा सहभागिता नजनाएका जुत्ताचप्पल उत्पादकहरु मेलाको विरोधमा उत्रिए । त्यतिखेर सबैको स्वार्थ मिलेर संघले औपचारिक रुपमा भृकुटीमण्डपको सानो चौरमा जुत्ताचप्पल मेला नगर्ने निर्णय समेत गरेको थियो । त्यसपछि केही समय मेला रोकियो ।

विशेष गरी शिखर सुजले सानो चौरमा एकल मेला गर्दै आएको थियो । गत वर्ष शिखर सुजले मेला गर्ने भनेर सानो चौर बुक गरेको थियो । मेला विरोधीहरुले उक्त मेला रोक्नै लगाएका थिए । केही समय मेला रोकिएपनि अहिले मेलामा फेरि प्रतिस्पर्धा चलेको छ । अहिले भृकुटी मण्डपको दुवै चौरमा दशैँलक्षित जुत्ताचप्पल मेला चलिरहेका छन् । भृकुटीमण्डप प्रवेशद्वारमै अहिले शिखर सुजको नेतृत्वमा प्राइड स्वदेशी, हाइलाइफ, वन वर्ल्ड, फुट स्टेप, बोस, बेम्बो, एसलगायतका ब्राण्डको प्रदर्शनी छ भने ठूलो चौरमा रन, विएफ डियर हिल, फर्स्टवाकलगायतका कम्पनीका जुत्ताचप्पल प्रदर्शनीमा छन् ।

मेलामा भएको प्रतिस्पर्धाले जुत्ताचप्पल उत्पादकहरु एक अर्कालाई भने खुइल्याउन थालेका छन् । यसले गर्दा नेपाली ब्राण्डमा आएका जुत्ताचप्पलप्रति पनि सर्वसाधारणले शंका गर्न थालेको र यसले नेपाली उद्योग नै संकटमा पर्र्ने जुत्ताचप्पल उत्पादक बताउँछन् । अहिले नेपालमा १८ करोडदेखि २० करोड जोर जुत्ता उत्पादन गर्न सक्ने पूर्वाधार रहेको जुत्ताचप्पल उत्पादकको दाबी छ । नेपाली जुत्ताचप्पलले ६० प्रतिशत बजार धान्ने उनीहरुको दाबी छ । यस्तै हरेक वर्ष औपचारिक अनौपचारिक माध्यमबाट दुईदेखि अढाइ करोड जोरसम्म जुत्ताचप्पल विदेश निर्यात हुने बताइएको छ । नेपाली जुत्ताचप्पल विदेशीको तुलनामा गुणस्तरीय रहेको उत्पादकको दाबी छ । उत्पादकहरुले जुत्ताचप्पलमा छ महिनाको वारेन्टी नै दिने गरेका छन् ।

जुत्ता मेलामा प्रतिस्पर्धा गर्न छालाजुत्ता उत्पादक संघ स्वयं लाग्दा जुत्ताचप्पल उत्पादकको हितमा निति नियम बनाउन लबिङ गर्नुपर्ने काम संघले गर्न नसकेको उत्पादकहरु बताउँछन् । कुनै व्यवसायीले मेलामा सहभागिता जनाउने, नजनाउने कुरा उसको आवश्यकता, उसको सोचमा भर पर्ने कुरा भएको केही उत्पादकको भनाइ छ । यसमा जुत्ता उत्पादक संघ आफैँ लबिङ गरेर हिँड्न नहुने उनीहरुको तर्क छ । कोभिड सकिएको एक वर्षमा पाँचवटाभन्दा बढी मेला संघकै नाममा भइसकेका छन् । संघले विधानमै दुईवटाभन्दा बढी सेल मेला नगर्ने भनेको छ । मेलामा प्रतिस्पर्धा हुँदा सर्वसाधारण उपभोक्ताले भने सस्तोमा जुत्ताचप्पल किन्न पाएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया