Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसोलुमा सवारीभाडा मनोमानी, ठगिँदै पर्यटक

सोलुमा सवारीभाडा मनोमानी, ठगिँदै पर्यटक


सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरीखोला क्षेत्र जाने सवारीको भाडामा मनोमानीरुपमा बढेको छ । सल्लेरीबाट खरीखोला जाने विदेशी पर्यटकको संख्या बढेसँगै सवारीसाधनले मनोमानीरूपमा भाडा लिनेगरेका छन् ।

खरीखोला क्षेत्र जाने सवारीको संख्या कम र यात्रुको चाप बढी हुँदा सवारीधनीहरूले पर्यटकहरूलाई तोकिएको भन्दा बढी भाडा लिनेगरेको पर्यटन व्यवसायी छिमी छिरि शेर्पाले गुनासो गरे । यसअघि सल्लेरीबाट खरीखोलासम्मको करिब ६० किलोमिटरको १६ हजार रूपैयाँमा रिजर्भ जानेगरेको बोलेरो जिपहरूले अहिले त्यही मार्गमा ५० देखि ६० हजार रूपैयाँसम्म लिनेगरेको यात्रुको गुनासो छ ।

व्यवसायीहरूले भ्रमणमा आएका विदेशीहरूलाई आफूखुसी भाडा लिँदा गलत सन्देश प्रवाह हुनसक्ने पर्यटन व्यवसायी शेर्पाको चिन्ता छ । ‘यहाँ विश्वका पर्यटकहरू घुम्न आउने ठाउँ हो, विगतमा गाडी खासै चल्दैन थियो तर अहिले कच्चीसडक लुक्लाभन्दा तल खरीखोलासम्म विस्तार भएसँगै कतिपय टुरिस्टहरू काठमाडौंबाट सदरमुकाम सल्लेरीसम्म जिपमा र त्यहाँबाट खरीखोलासम्म बोलेरो रिजर्भ गरेर आउने गरेका छन्’, उनले भने, ‘उनीहरूलाई गाडीवालाहरूले भने ठगिरहेका छन् । ६० किलोमिटरको दूरीमा ६०/७० हजार भाडा लिनु भनेको कतिसम्मको फटाइ हो ?’

लुक्लामा हाल रामेछापबाट नियमित हवाई उडान हुँदै आएको छ । तर समय–समयमा मौसम प्रतिकूलताका कारण उडान लामो समयसम्म ठप्प हुँदा विदेशीहरू स्थलमार्गमार्फत सल्लेरी हुँदै सगरमाथा क्षेत्र प्रस्थान गर्ने गर्छन् । कतिपय पर्यटकहरू जहाजमार्फत सिधै लुक्ला जानुभन्दा स्थलमार्गबाटै खुम्बु पुग्न रुचाउँछन् । तर लुक्लासम्म नै सडक भने पुगेको छैन । काठमाडौंबाट एक दिनको सडकयात्रामार्फत सदरमुकाम सल्लेरी र भोलिपल्ट त्यहाँबाट बोलेरो जिपमार्फत लुक्लाभन्दा तल खरीखोला पुग्ने गर्छन् । खरीखोलाभन्दा माथि गाडी नजाने भएकाले त्यहाबाट एक दिन पैदल हिँडेर पर्यटकहरू लुक्ला पुग्ने गर्छन् । साथै विदेशी यात्रुको चाप उच्च हुँदा नेपाली यात्रुहरूले टिकट नपाउने समस्या पनि सिर्जना भएको छ ।

एक यात्रु प्यारीमाया घिमिरेले भनिन्, ‘म सल्लेरीबाट खरीखोला मेरो घर जानुपर्ने, दुई दिन भयो गाडी कुरेको तर मिलेन । गाडीवालाहरूलाई कुरा गर्दा सिट नै छैन भन्छन् । म बच्चासँग छु, असाध्यै विजोग भयो अब के गर्ने होला !’ उनका अनुसार पहिला पहिला गाडी चढ्ने मान्छे नभएर गाडी पूरै खाली हुन्थ्यो । अहिले सबै गाडी विदेशीले भरिएकोले गाडीवालाहरूले नेपालीलाई चढाउँदैनन् । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ज्ञान बहादुर माझीको कमान्डमा खटिएको ट्राफिक प्रहरीसहितको टोलीले अनुगमन समेत गरेको छ । अनुगमनको क्रममा सल्लेरीबाट खरीखोलासम्म रिजर्भ भाडा तोकिएको भन्दा बढी नै लिएको पाइएको प्रहरी निरीक्षक माझीले बताए । सवारीसाधनको संख्या कम भएकाले समस्या भएको भन्दै अहिलेको समस्या समाधान गर्न यातयात व्यवसायीहरूसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया