Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई दिन आग्रह

पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई दिन आग्रह


काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले निर्माणधीण पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ निगमलाई प्रदान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरेको छ ।

निगमले मंगलबार एक विज्ञप्ति जारी गरी ग्राउन्ड ह्यान्डलिङमा लामो अनुभव रहेको र सोहीअनुसारको दक्ष जनशक्ति तथा आवश्यक प्राविधिक स्रोत साधनको उपलब्धता रहेकाले निगमलाई प्रदान गर्न आग्रह गरेको हो । सोमबारदेखि यान्त्रिक परीक्षण उडान भइरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ सेवा प्राधिकरण आफैँले गर्ने जनाएको थियो । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्दै आएको छ । ग्राउन्ड ह्यान्डलिङ कार्यमा लामो समयसम्मको व्यवस्थापकीय अनुभव, सोहीअनुसारको स्रोत साधन र जनशक्ति रहेकाले पोखरा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको कार्यसमेत निगमलाई नै प्रदान गर्न व्यवस्थाका लागि अनुरोध गरिएको छ’, निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले अन्तर्राष्ट्रियस्तरको ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको र आइसागो, आयोटा सेफ्टी अडिट फर ग्राउन्ड अपरेसन्स सर्टिफाइड रहेको निगमले उल्लेख गरेको छ । साथै आन्तरिक वायुसेवाको भूमिस्थ सेवासमेत गर्न सक्षम भएको छ । निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ कार्य गर्दै आएको छ । निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हाल भारतका तीनसहित आठ देशका विभिन्न १० वटा गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ ।

दिल्ली उडान कटौतीले आम्दानी खुम्चियो
निगमले मुख्य आम्दानी हुने भारतको नयाँदिल्ली गन्तव्यको उडान कटौती हुँदा आफ्नो आम्दानी खुम्चिएको जनाएको छ । काठमाडौं–दिल्ली गन्तव्यमा साताको १४ उडान गर्दै आएकामा हालैको उडानतालिकामा साताको १० वटा उडान मात्र प्राधिकरणबाट स्वीकृत भएकोले निगमको आम्दानीमा संकुचन भएको निगमले विज्ञप्तिमा जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणको निर्देशनानुसार निगम व्यवस्थापनले निर्णय गरी सञ्चालक समितिको समेत स्वीकृतिपश्चात् साताका चार उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा (काडमाडौं–दिल्ली–भैरहवा–काठमाडौं) उडान गर्नेगरी स्वीकृतिका लागि प्राधिकरणमा पठाइसकिएको छ । साथै, निगमको कटौती भएको उडान यथावत सञ्चालन गर्ने र आवश्यकताअनुसार अन्य गनतव्यमा उडान थप गर्नसमेत मन्त्रालय र प्राधिकरणलाई अनुरोध गरिएको निगमले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया