Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचालू आवको अन्त्यसम्म उपत्यकामा एफटीटीएच सेवा पु-याइने

चालू आवको अन्त्यसम्म उपत्यकामा एफटीटीएच सेवा पु-याइने


काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म काठमाडौं उपत्यकाका तीनै जिल्लामा फाइबर टु द होम (एफटीटीएच) सेवा पु-याउने भएको छ ।

राजधानीका मुख्य सहरी भागमा अहिले पनि एफटीटीएच सेवा पुगेकामा चालू आवको असारसम्म भने काँठ र ग्रामीण भेगमा लैजाने गरी तयारी गरिएको हो । टेलिकमले सन् २०१५ जनवरीदेखि पाइलट प्रोजेक्टका रूपमा एफटीटीएच सेवा सुरु गरेको थियो । सन् २०१७ देखि भने व्यावसायिकरूपमा यो सेवा आरम्भ भएको नेपाल टेलिकमका सहायक प्रवक्ता रञ्जित लोहियाले जानकारी दिए । उनका अनुसार घर–घरमा फाइबर पु-याउने उद्देश्यले यो सेवा सुरु गरिएको हो ।

हालसम्म ६८ जिल्लाका मुख्य–मुख्य सहरमा फाइबर सेवा पुगेको छ । गतवर्ष मात्र एफटीटीएचको दुई लाख २६ हजार पोइन्ट जोडिएको उनले बताए । चालू आवमा एफटीटीएचका तीन लाख पोइन्ट जोड्ने कार्यक्रम छ । हालसम्म एफटीटीएच सेवाका लागि देशभर नौ लाख ५५ हजार छ सय ६६ पोइन्ट जोडिएको छ । हाल यो सेवाका ग्राहक भने दुई लाख ८६ हजार छन् । जति पनि ग्राहकका घरमा एफटीटीएच सेवा जोड्न सक्ने गरी पोइन्ट बनाइएको छ ।

एफटीटीएच सेवाका लागि पोइन्ट जोड्न भौतिकरूपमा काम गर्नुपर्ने भएकाले व्यावसायिक सेवा सुरु गरेको पाँच वर्षमा पनि देशभर सेवा विस्तार गर्न नसकिएको सहायक प्रवक्ता लोहियाले बताए । कोरोना महामारीका कारण दुई वर्ष विदेशबाट सामग्री ल्याउन नसकिएकाले पनि एफटीटीएच सेवा विस्तारको काममा ढिलाइ भएको हो । अहिले सामग्री आइसकेकाले विस्तारको काम मात्र बाँकी रहेको छ । यो काम काठमाडौं उपत्यकामा भने २०८० साल असारसम्ममा सक्ने लक्ष्य राखिएको छ । हालसम्म डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, रुकुम–पूर्व, रुकुम–पश्चिम, बझाङ र बाजुरामा एफटीटीएच सेवा पुग्न सकेको छैन । यसबाहेकका ६८ जिल्लामा यो सेवा पुगेको छ । यसमध्ये जुम्लामा भने चालू आर्थिक वर्षमा केही काम भइरहेको टेलिकमले जनाएको छ । एफटीटीएच सेवा लैजान घरअघि बक्स राखिन्छ । तार भूमिगतरूपमा लगिन्छ । बक्सबाट भने पोलबाट पनि तार लगिने जनाइएको छ ।

तामाको तारमा आधारित प्रणालीमा रहेको एडीएसएल सेवाको इन्टरनेटलाई अप्टिकल फाइबर प्रणालीमा आधारित प्रविधिमा रूपान्तरण गर्न एफटीटीएच सेवा विस्तारलाई प्राथमिकतामा राखिएको हो । सबैतिर अप्टिकल फाइबर पुगेपछि तामाको तारमा आधारित प्रविधि बन्द गर्ने टेलिकमको तयारी छ । एफटीटीएच प्रविधिबाट इन्टरनेटका साथै टेलिभिजन र टेलिफोन सेवा पनि ग्राहकले पाउनेछन् । यी तीनै सेवा प्रदान गर्ने अरु इन्टरनेट प्रदायक संस्था नेपालमा छैनन् । यो प्रविधि जोड्नेले एक महिनामा मोबाइलमा १०६ जीबी डाटा पनि निःशुल्क पाउने व्यवस्था गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया