Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली फेस्टिभल सिड्नी सम्पन्न

नेपाली फेस्टिभल सिड्नी सम्पन्न


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्स राज्य परिषद्को विशेष आयोजनामा अष्ट्रेलियाको सिड्नीमा भव्यताका साथ नेपाली फेस्टिभल सिड्नी २०२२ सम्पन्न भएको छ ।

बरउड पार्कमा भएको फेस्टिभलमा कोमर स्ट्रिटबाट प्रभातफेरी सुरू गरिएको थियो । जसमा न्यू साउथ वेल्य राज्यमा रहेका विभिन्न नेपाली समुदायहरुको तर्फबाट नेपाली कला, संस्कृति, परम्परा देखाउने नाँच, झाँकी, भजन कृतन, बाजागाजा, लाखे, शिव पार्वती, कुमारी रथयात्रा, पञ्चकन्याका साथमा विभिन्न झाँकी र संस्कृति झल्किने प्रस्तुति रहेको थियो । क्विन्सफोर्ड कलेज टाइटल स्पोन्सर रहेको उक्त महोत्सवमा दर्जनौँ व्यावसायिक तथा सांस्कृतिक स्टलहरु प्रदर्शनीमा राखिएको थियो । स्टलमै राखिएको एक नेपाली घरले सबै नेपाली तथा अन्य मूलका मानिसहरुको पनि मत जित्न सफल भयो । जसमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि, विभिन्न मूर्तिहरु तथा परम्परागत चुल्हो, नेपाली किचनका सामग्रीहरुलगायत विभिन्न मौलिक विषयवस्तुहरु राखिएको थियो । उक्त दृश्य हेरेर यहाँ रहेका नेपाली मात्र नभएर अन्य मूलका मानिसहरुले पनि उत्साह प्रकट गरेका थिए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाली फेस्टिभलले अष्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको जग बसाउनको निम्ति महत्वपूर्ण हुने बताए । अष्ट्रेलियन समुदायमा बढ्दै गइरहेको नेपाली जनसंख्यालाई मध्यनजर गर्दै यसप्रकारका सांस्कृतिक पर्वले नेपाली पहिचान र मौलिकताको विकासमा टेवा पुग्ने मात्र नभएर नेपालमा पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने बताए । प्रत्येक दुई वर्षमा आयोजना हुँदै आएको नेपाली विविधता र नेपाली मौलिकपन बोकेको नेपाली मेलाले यहाँ हुर्किँदै गरेका ससाना बालबालिकाहरुलाई पनि विभिन्न नेपाली कला संस्कृतिको पहिचान गराउन मद्दत पुग्ने एनआरएनए अष्ट्रेलिया अध्यक्ष नन्द गुरुङले बताए ।

एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य संयोजक एवं नेपाल फेस्टिभल सिड्नी मूल समारोह समिति संयोजक देव गुरुङले नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन र नेपाली कला, संस्कृति, भाषा, रीतिरिवाज, नेपाली मौलिक खानालाई अस्ट्रेलियाका विभिन्न समुदायबीच प्रवद्र्धन गर्ने र सिंगो नेपाललाई अस्ट्रेलियामा देखाउने उद्देश्यसहित हुँदै आएको कार्यक्रम यस वर्ष पनि भव्य बन्न सफल भएको बताए । उनले यो कार्यक्रम गर्दैगर्दा न्यू साउथ वेल्स सरकारबाट १५ हजार डलर सहयोग प्राप्त भएकोमा खुसी व्यक्त गर्दै राज्य सरकारप्रति आभार समेत व्यक्त गरे । आयोजकले कार्यक्रम हेर्न नेपाली मात्र नभएर अन्य मूलका मानिसहरु समेत गरी ३० हजारभन्दा धेरै मानिसहरु सहभागी भएको विश्वास गरेको छ । कार्यक्रमको लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रसारण गरेको थियो ।

गैरआवासीय नेपाली संघ एनआरएनए अस्ट्रेलियाको आयोजनामा हरेक दुई वर्षमा आयोजना गर्ने कार्यक्रम सिड्नीबाट सुरु हुँदै अन्य राज्यमा पनि हुँदै आएको छ । सन् २००६ मा सिड्नीबाट सुरु भएको यो कार्यक्रम हाल अन्य राज्यहरुमा पनि दुई–दुई वर्षको अन्तरमा आयोजना हुँदै आएको छ । यसअघि मेलवर्न, ब्रिसबेन र तास्मानियामा पनि कार्यक्रम सम्पन्न भइसकेको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया, क्यानबेरास्थित नेपाली दूतावास र महावाणिज्यदूतको कार्यालयको संयुक्त सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया