Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाँकेका पर्यटकीय गन्तव्य ओझेलमा

बाँकेका पर्यटकीय गन्तव्य ओझेलमा


नेपालगञ्ज । संरक्षण र सम्वर्द्धन हुन नसक्दा बाँकेमा रहेका पर्यटकीयस्थल ओझेलमा पर्नथालेका छन् । केही पर्यटकीय सम्भावना बोकेका त्यस्ता गन्तव्यमा लगानी नभएको र त्यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नसक्दा पर्यटन व्यवसायीले उल्लेख्य काम गर्न सकेका छैनन् । ‘पर्यटनको अध्ययन, अनुसन्धान र खोजी भएको छैन, त्यसका लागि बृहत् परियोजना निर्माण गर्नुपर्छ’, नाट्टा च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भने ।

पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उनको भनाइ छ । पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको उनले बताए । उनका अनुसार यहाँका राप्तीसोनारी, बैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रको रुपमा मानिन्छ । यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना प्रचुर भए पनि त्यस्तो सोचको विकास हुन सकेको छैन । केही होमस्टे र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढावा दिएको उनको भनाइ थियो । राप्ती नदीमा ¥याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनको रुपमा विकास र बैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने बताइएको छ । त्यस्तै, बाँके राष्टिय निकुञ्जलाई हात्ती सफारी, चारसिङ्गे मृगको बासस्थान रहेको क्षेत्र र पदयात्रा रुपमा विकास गर्न सकिने, यहाँ रहेका विभिन्न तालतलैयालाई ‘फिसिङ’ क्षेत्रका रुपमा विकास गरेर पर्यटकीय आर्कषण बढाउन सकिने प्रचुर सम्भावना देखिएको छ ।

यसबाहेक नेपालगञ्जमा रहेको महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, मिनी जु, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात मानिन्छ । नाट्टा च्याप्टर बाँकेका अध्यक्ष सिग्देलले पर्यटनलाई राज्यले कम प्राथमिकतामा राखेको गुनासो गरे । स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासका लागि छुट्याउने बजेट न्युन भएको उनको भनाइ छ । उनले भने, ‘यहाँ गोहीको पनि बासस्थान छ, त्यसलाई खास पकेट क्षेत्र बनाएर त्यसमा पर्यटक बढाउन सकिन्छ ।’ ‘पर्यटनको विकासका लागि लगानी भित्रिनुपर्छ । पर्यटनमैत्री वातावरण निर्माण हुनुपर्छ । यसले पर्यटनको क्षेत्रमा कायापलट गर्न सकिन्छ’, उनले अगाडि थपे । पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिए । उनले निकुञ्जलाई हात्तीसफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुकोसमेत बास्स्थान भएको क्षेत्रका रुपमा प्रचार गर्न सके यसले पर्यटकीय आर्कषण बढ्नसक्ने बताए ।

नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्णस्थलका रुपमासमेत विकास गर्न सकिने उनको सुझाव छ । उनले भने, ‘यसक्षेत्रमा करिब आठ क्यासिनो, दुई पाँच तारे र १२ चार तारे होटेल छन् यसले यहाँको पर्यटन पवर्द्धन गर्न सहयोग गर्छ ।’ यहाँ होटेलमा आउने अधिकांश भारतीय पर्यटक हुन । भारतको उत्तराखण्ड, उत्तरप्रदेश र विहारबाट धेरै पर्यटक नेपाल आउछन् । यस बाहेक आन्तरिक पर्यटकको समेत चहलपहल हुन्छ । बाँकेको निर्वाचन क्षेत्र नं ३ को (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित रत्न खत्रीले बैजानथा गाउँपालिकाको मानसरोवर प्रतिकात्मक बोटानिकल गार्डेनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न नीति र योजना अघि ल्याउन गृहकार्य भइरहेको बताए । त्यस क्षेत्रमा जैविक पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसलाई उच्च प्राथमिकतामा राखेर काम गर्न सकिने उनको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया