Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमाघ २४ देखि राजधानीमा ‘क्यान इन्फोटेक’ स्टल बुकिङ खुला

माघ २४ देखि राजधानीमा ‘क्यान इन्फोटेक’ स्टल बुकिङ खुला


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले ‘क्यान इन्फोटेक २०२३’ हुन लागेको छ ।

कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ)ले वर्षेनी आयोजना गर्दै आएको क्यान इन्फोटेकको २८औँ संस्करण आगामी माघ २४ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएको हो । नेपालमा सञ्चार तथा सूचना प्रविधि र मनोरञ्जनसम्बन्धी वार्षिकरूपमा आयोजना हुने प्रदर्शनी तथा सम्मेलन मुलुककै ठूलो प्रदर्शनीको हो, जुन छ दिनसम्म चल्नेछ । यस पटकको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरूको अधिकतम सहभागिता रहने क्यान महासंघले जनाएको छ । क्यान इन्फोटेकको २८औँ संस्करणको मितिसँगै यसको शीर्ष प्रायोजन, सहप्रायोजन, प्लाटिनम, डायमन्ड, गोल्ड र सिल्भर प्रायोजनका साथै अन्य प्रायोजन तथा साझेदारीका निम्ति प्रस्ताव खुला समेत गरिएको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरूको सहभागिता रहने छ । प्रदर्शनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । यो प्रदर्शनी सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरूका लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विषेश थलो हुने विश्वास गरिएको छ । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ ।

क्यान इन्फोटेकमा अवलोकनर्ताले देश–विदेशका सफ्टवेयर, नेटवर्किङ तथा क्लाउड सोलुसन, मोबाइल फोन तथा सोलुसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स र सेक्युरिटी सोलुसन पाउन सक्नेछन् । साथै ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एक्सेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी पनि प्रदर्शनीमा उपलब्ध हुनेछन् । यसैगरी आईओटी, ब्लक चेन, आर्टिफिसियल इन्टेलिजेन्स, वैकल्पिक ऊर्जा प्रविधिको जानकारी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन, सेल्फ लर्निङ सफ्टवेयर तथा ट्युटोरियल आदि प्रदर्शनीमा रहनेछन् । प्रदर्शनीमा राखिने नवीनतम प्रविधि स्टार्टअप इनोभेसन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।

क्यान महासंघले क्यान इन्फोटेक २०२३ का लागि आवश्यक पर्ने स्टल तथा ह्याङ्गर निर्माण र विद्युत् आपूर्ति, सुरक्षा गार्ड, स्टेसनरी, छपाइलगायतका प्रस्तावहरू समेत आह्वान गरेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया