Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगी व्यवसायीको मनोबल उच्च राख्न आग्रह

उद्योगी व्यवसायीको मनोबल उच्च राख्न आग्रह


काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्ने र अर्थतन्त्रलाई चलायमान बनाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ । अर्थतन्त्र शिथिल र उद्योगी व्यवसायीहरु निराश हुँदा राजस्वमा मात्रै नभई देशको प्रगतिमा नै नकारात्मक असर पर्ने उल्लेख गर्दै परिसंघले उद्योगी व्यवसायीहरुको मनोबल उच्च राख्ने जिम्मेवारी राजनीतिज्ञ, कर्मचारीतन्त्र, वित्तीय संस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरुको रहेको जनाएको छ ।

पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह÷आत्महत्या गरेको दुःखद घटनाले नेपाली समाज र उद्योगी व्यवसायीमा चिन्ता एवं निराशाको वातावरण सिर्जना गरेको परिसंघले जनाएको छ । परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी महिनौँदेखि शिथिल रहेको नेपाली अर्थतन्त्रलाई गतिशील बनाउन सरकार र निजी क्षेत्र दुवै पक्षबाट केही सुधारका सकारात्मक प्रयासहरु सुरु भएको अवस्थाका बीच पछिल्ला दिनमा भएका घटनाले अर्थतन्त्रको विकास र व्यावसायिक वातावरणमा सुधारसँग सरोकार राख्ने सबैलाई झक्झक्याएको उल्लेख गरेको छ ।

परिसंघका अनुसार विगत केही समयदेखि नेपाली अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बेलामा नेपाल सरकारबाट चालू पुँजी कर्जा मार्गदर्शनको परिमार्जन, आयात फुकुवा, एलसी मार्जिन र निक्षेपमा ब्याजदर घट्ने जस्ता कदमहरुले अर्थतन्त्रलाई चलायमान गर्ने संकेत दिएको छ । साथै, पर्यटक आवागमन तथा रेमिट्यान्समा वृद्धि, शोधनान्तर स्थितिमा आएको सुधारलगायतले अर्थतन्त्रमा सकारात्मक सन्देश दिएका छन् । यस्ता सकारात्मक कदमहरु सरकारले क्रमशः अगाडि बढाउँदै लैजाने र केही महिनामै सरकारले लिएका र लिने कदमहरुले तरलताको स्थिति र समग्र मागमा वृद्धि ल्याई अर्थतन्त्र चलायमान हुने परिसंघको विश्वास छ ।

कठिन अवस्थाको सम्वेदनशीलताबारे सरकार, नियामकीय निकाय पनि जानकार रहेको उल्लेख गर्दै परिसंघले यस कठिन अवस्थाबाट निकास दिन सबै प्रयासरत रहेकोमा आफूहरु ढुक्क रहेको जनाएको छ । ‘नेपालको निजी क्षेत्र कठिनतम् अवस्थालाई चिर्दै अगाडि बढेको विगत छ । सशस्त्र द्वन्द्व, भूकम्प, कोभिड महामारीजस्ता अभूतपूर्व कठिन अवस्थामा पटक–पटक यसको पुष्टि भइसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘विगतमा जस्तै हालको कठिन स्थितिबाट पनि निजी क्षेत्र बाहिर निस्किने क्षमता राख्दछ । र, चाँडै बाहिर निस्किन्छ भन्ने परिसंघको विश्वास छ ।’

‘निजी क्षेत्र अर्थतन्त्रको बलियो आधार हो । जसको ७० प्रतिशतभन्दा बढी राजश्वमा योगदान छ । अर्थतन्त्र शिथिल हुँदा र उद्योगी व्यवसायीहरु निराश हुँदा राजस्वमा मात्रै नभई देशको प्रगतिमा नै नकारात्मक असर पर्छ’, परिसंघले भनेको छ । अर्थतन्त्र नाजुक परिस्थितीबाट गुज्रिरहेको बेलामा सबै सरोकारवालाहरुलाई संयमता अपनाई उद्योगी व्यवसायीहरुलाई यो परिस्थितिबाट माथि उकास्न मद्दत गर्न पनि परिसंघले आग्रह गरेको छ । मानिसको आशा नै जीवनको बाँच्ने आधार भएकाले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन पात्र र प्रणाली दुवैमा प्रभावकारी ढंगबाट सुधारका काम तत्काल थाल्न सरकारीसहित मुख्य सरोकारवालाहरुलाई एकीकृत पहल गर्दै अघि बढ्न परिसंघले अपिल गरेको छ । साथै परिसंघले उक्त घटनाहरुबाट दिवंगत भएका उद्यमीहरुको आत्माको चिर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ भने परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया