Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगउद्योगी व्यवसायीहरू एक नभएकै कारण सरकारले निजी क्षेत्रको मुद्दामा चासो दिएन : श्रेष्ठ

उद्योगी व्यवसायीहरू एक नभएकै कारण सरकारले निजी क्षेत्रको मुद्दामा चासो दिएन : श्रेष्ठ


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले सरकारले निजी क्षेत्रको मुद्दामा चासो नदिएको बताएका छन् । गोरखा उद्योग वाणिज्य संघको ४७औँ साधारणसभामा उनले अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढ्नुको विकल्न नरहेको बताए ।

‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौँ तर सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन’, उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो ।’ अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीभन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानुन बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ’, उनले भने । यसैगरी उनले अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको बताए । ‘हामी अहिले उधारोमा चलेका छौँ, यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने’, उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी व्यवसायीको हितमा छैन ।’

देशमा राजनीतिक क्रान्ति भएर गणतन्त्र आए पनि तर आर्थिक क्षेत्र झन् खस्किएको उनको भनाइ थियो । ‘हामी उद्योगी व्यवसायीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन क्रान्ति गरेका होइनौँ’, उनले भने, ‘देशलाई आर्थिक रुपमा समृद्ध बनाउन हाम्रो लडाइँ थियो तर अहिले उल्टो भइदियो ।’ यस्तै उनले आफूले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेको र उक्त समस्या समाधान गर्न महासंघको नेतृत्वमा आउन चाहेको बताए । ‘महासंघको विधानअनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ’, उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथि भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’ साथै अहिले महासंघको पुरानो साख जोगाउनुपर्ने समय आएको भन्दै त्यसलाई लागि चन्द्र ढकालको टिममा आफू वरिष्ठ उपाध्यक्ष भएर गएपछि काम गर्न सकिने समेत उनले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया