Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलक डाउनको प्रभावकारी कार्यान्वयनमा सघाउन परिसंघको अपिल

लक डाउनको प्रभावकारी कार्यान्वयनमा सघाउन परिसंघको अपिल


काठमाडौं, चैत १२
नेपााल उद्योग परिसंघले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको पूर्णस्तरको लक डाउनको प्रभावकारी कार्यान्वयनमा सघाउन अपिल गरेको छ । सरकारले मंगलबारदेखि लागू हुने गरी जारी भएको यो आदेशले सात दिनसम्म अत्यावश्यक अवस्था वा सेवाबाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्किन रोक लगाएर आमबन्दीलाई कार्यान्वयनमा लगेको छ । यसका लागि सरकारले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ लागू गरेर कानुनी वैधता दिएको छ । अत्यावश्यक सेवा तथा उत्पादन मात्र सञ्चालन गर्ने सरकारको आदेशलाई सबै क्षेत्रले प्रभावकारी कार्यान्वयन गरे प्रकोप नियन्त्रणमा सकारात्मक परिणाम देखिनेछ भन्ने विश्वास परिसंघले लिएको छ ।

परिसंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक सेवा तथा उत्पादन क्षेत्रबाहेकका अन्य उद्योग तथा व्यवसायको काम स्थगित गरेर नोवल कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने सरकारको कदममा जिम्मेवारीपूर्वक सघाउन परिसंघ आफ्ना सदस्य उद्योग, प्रतिष्ठान, संघ संस्था, साझेदारहरु तथा सबै नागरिकमा आग्रह गरेको छ । यसैगरी स्वास्थ्य संकटको यो घडीमा आ–आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत परिसंघ अध्यक्ष सतिस कुमार मोरले आग्रह गरेका छन् ।

परिसंघका अध्यक्ष मोरले अत्यावश्यक सेवा तथा उत्पादनमा रहने उद्यमी व्यवसायी तथा श्रमिक वर्गले पनि कार्यस्थलमा एक अर्काबीच आवश्यक भौतिक दूरी कायम गरी आफू र आफ्नो समुदायको स्वास्थ्यलाई ख्याल गर्दै अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन समेत आग्रह गरे ।

उनले भने, ‘अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन भन्सार नाकाहरुमा स्थापनामा पहल थाल्न तथा कार्गो हवाइ सेवालाई सुचारु राख्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ साथै भारत र चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी वस्तुको अनलोड र ढुवानीको बन्दोबस्त मिलाई अत्यावश्यक वस्तुको उत्पादन र वितरण प्रणालीलाई सुचारु राख्ने आवश्यक व्यवस्था मिलाउनुपर्नेमा समेत परिसंघले जोड दिएको छ ।

स्वास्थ्य संकटसँग जोडिएर आएको विस्मयकारी आर्थिक संकटको गहिराइ मापन, यसको मूल्यांकन र गहन अध्ययनलाई परिसंघले अघि बढाएको पनि अध्यक्ष मोरले उल्लेख गरे । अहिलेको अवस्था केही सहज हुनासाथ यसबाट उत्पन्न हुनसक्ने आर्थिक नोक्सानी र विषम अवस्थाबाट केही हदसम्म भए पनि उद्धार गर्दै सामान्य अवस्थामा फर्किनका लागि परिसंघले सरकार र साझेदारसँग नियमित सम्पर्क र छलफल गरिरहेको पनि जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया