Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘औद्योगिक क्षेत्रलाई घेराबन्दी गरी संकटमा पारियो’

‘औद्योगिक क्षेत्रलाई घेराबन्दी गरी संकटमा पारियो’


काठमाडौं । मुलुकभरका अधिकांश औद्योगिक क्षेत्र र त्यहाँ भएका उद्योगहरूमाथि घेराबन्दी गरी संकटमा पार्ने काम भएको उद्योगीहरूले गुनासो गरेका छन् । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा उनीहरूले औद्योगिक क्षेत्रमा स्थानीयको अतिक्रमण तथा त्रास, राजनीतिक दलको हेपाहा व्यवहारदेखि स्थानीय सरकार र स्वयं औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमेतले अन्याय गरिरहेको बताएका हुन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षेत्रमा रहेको जग्गा तथा भवनको भाडामा उद्योगीमाथि अन्याय भइरहेको बताए । दशकपहिले स्थापित गौरवशाली औद्योगिक क्षेत्रहरू सार्नुपर्ने दबाव विभिन्न क्षेत्रबाट आउने गरेको उनको भनाइ थियो । ‘आद्योगिक क्षेत्रलाई दिगोरूपमा सञ्चालन हुने वातावरण नदिएर उद्योगी र निजी क्षेत्रलाई हतोत्साहित गर्नु हुँदैन’, उनले भने, ‘सरकारले यस्ता विषयमा स्पस्ट दृष्टिकोण र निर्णय गरेर उद्योगी व्यवसायीको संरक्षण गर्नुपर्छ ।’ नेपालमा कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान अझै न्यून रहेकाले बढाउने योजना ल्याउन सुझाव दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले औद्योगिक क्षेत्र स्थापना हुने समयमा बस्तीबाट टाडा र सुरक्षित स्थानमा रहेको तर पछि मानव बस्ती स्थापना हुने र त्यही बस्तीले उद्योगलाई आँखी बनाउने गरेको बताए । यस्तै भक्तपुर औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष पवन मित्तलले भक्तपुर औद्योगिक क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले हैकम मच्चाइरहेको आरोप लगाए । ‘दलका कार्यकर्ताले त्यहाँका उद्योगीलाई विस्थापित गर्ने मनाशायले हतोत्साहित गर्छन्, धम्क्याउँछन्, सरकारले सुरक्षा प्रबन्ध नगरे काम गर्नसक्ने अवस्था छैन,’ उनले भने । भक्तपुर महानगरपालिकाले पनि विभिन्न बहानामा चर्को कर असुल गरिरहेको उनको आरोप छ ।

यस्तै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योग प्रवद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योग प्रवद्र्धकको भूमिकामा नभएर नाफा मात्र हेर्ने निकाय बनेको आरोप लगाए । औद्योगिक क्षेत्रको प्रवर्दनका लागि जमिनको वर्गीकरण गरी औद्योगिक क्षेत्रमा बस्ती विकास हुन नदिने, जमिन लिज कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्ने औद्योगिक क्षेत्रको भाडा वैज्ञानिक मापदण्डका आधारमा निर्धारण हुनुपर्ने, औद्योगिक क्षेत्रको पूर्वाधार प्रवद्र्धन र आधुनिकीकरणमा थप लगानी गर्नुपर्नेलगायतका सुझाव समेत उनले दिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका निमित्त सरकार गम्भीर रहेको बताए । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पूर्वाधार विकासमा लगाउनुपर्ने रकम बैंकमा मुद्दती खातामा राखेर ब्याज खाइरहेको भन्दै उनले सो रकम परिचालन गर्न विशेष ध्यान दिन सम्बद्ध अधिकारीलाई निर्देशन दिए । उनले लिमिटेडमा नयाँ महाप्रबन्धक छिट्टै नियुक्त गर्ने तयारी गरिरहेको जानकारी दिँदै दुईवटा नयाँ औद्योगिक क्षेत्र थप गर्ने जिम्मेवारीसमेत उनलाई दिइने बताए । चितवनको शक्तिखोरमा नयाँ औद्योगिक क्षेत्र निर्माणलाई आफूले उच्च प्राथमिकता दिएको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया