Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘सेप साउथ एसिया–२०२३’ युवा सम्मेलन शुक्रबारदेखि

‘सेप साउथ एसिया–२०२३’ युवा सम्मेलन शुक्रबारदेखि


काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि ‘सेप साउथ एसिया–२०२३’ नामक युवा सम्मेलन सुरु हुँदैछ । जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई संकटसँग जुध्न सक्षम पार्ने उद्देश्यले हुन लागेको यो सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

सम्मेलनमा १४ देशका १०० भन्दा धेरै युवाहरूको सहभागिता हुने बताइएको छ । यो सम्मेलनको मुख्य विषय ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैको लागि भलाइ’ भन्ने रहेको छ । ग्लोबल सेपर्स कम्युनिटी काठमाडौं र एनसेल एक्जियाटाको संयुक्त आयोजनामा हुन लागेको यो सम्मेलनमा सहभागीहरूले जलवायु समस्या समाधानका लागि नवीनतम् र अन्यत्र लागू गर्न सक्ने समाधानका उपायको बारेमा छलफल गर्नेछन् । दक्षिण एसियाली राष्ट्रमा आयोजना गरिएको यो कार्यक्रमको नाम नै ‘सेप साउथ एसिया–२०२३’ दिइएको आयोजक संस्थाको भनाइ छ ।

आयोजकका अनुसार सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा आयोजना हुनेछन् । साथै, युवा तथा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत संस्थाहरूको आवाज समेटेर एउटा पैरवी पत्र अर्थात् एडभोकेसी पेपर समेत जारी गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सिएनआई, नेपाल चेम्वर अफ कमर्स जस्ता निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाले जलवायु परिवर्तन न्यूनीकरण गर्न संयुक्त प्रतिबद्धता समेत व्यक्त गर्नेछन् । सम्मेलनमा सहरमा आधारित परियोजनाको घोषणा गरिनेछ भने व्यावसायिक तथा निजी क्षेत्रले जलवायु परिवर्तनमा के–कस्तो योगदान गर्न सक्छन् भन्ने विषयमा छलफल हुने बताइएको छ ।

एनसेलका प्रमुख कार्यकारी जाबोर कायुमोभले यो अन्तर्राष्ट्रिय सम्मेलनले जलवायु परिवर्तनको समस्या समाधानका लागि अपासी सहकार्यको विकास गर्ने बताए । यस्तै, व्यवसाय र पृथ्वी दुवैलाई बाँच्न सक्ने वातावरणको सिर्जना गर्न योगदान गर्ने पनि उनको भनाइ छ । सम्मेलनको स्थानीय आयोजक ग्लोबल सेपर्स काठमाडौ रहेको छ भने स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को–अपरेसन(एसडीसी), सेक्युरिटीपल, कोकाकोला, एनआईबीएल एस क्यापिटल, नबिल बैंक र इसिमोडले सम्मेलनलाई सहयोग गरेका छन् ।

वर्ल्ड इकोनोमिक फोरमको सक्रियतामा स्थापना भएको ग्लोबल सेपर्स कम्युनिटीमा विश्वका १५२ देशका ५०५ शहरहरूमा केन्द्र (हब) रहेका छन् । सम्मेलनको आयोजना गर्नुअघि आयोजकहरूले वृक्षारोपण अभियानअन्तर्गत् तराई क्षेत्रसहित देशका विभिन्न स्थानमा २२ सय बिरुवा रोपेका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया