Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगचिनियाँ जहाज बेच्न मूल्याङ्कनको काम अन्तिम चरणमा

चिनियाँ जहाज बेच्न मूल्याङ्कनको काम अन्तिम चरणमा


काठमाडौं । नेपाल वायु सेवा निगमले निरन्तर घाटा व्यहोरेपछि थन्काएर राखेको पाँचवटा चिनियाँ जहाज बेच्नका लागि मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको जनाएको छ । निगमसँग रहेका दुईवटा एमए–६० र तीन वटा वाई १२ ई चिनियाँ जहाजहरू लामो समयदेखि थन्किएर बसेका छन् ।

जहाज थन्किएर बसेको बारेमा संसद्मा कुरा उठेपछि मंगलबार निगमले एक विज्ञप्ति जारी गरी उक्त जहाजलाई बेच्ने प्रक्रिया अघि बढाउन मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको जनाएको हो । निगमका अनुसार यी चिनियाँ जहाजहरू सञ्चालनका लागि विभिन्न समयमा अध्ययन समितिहरू गठन भएका थिए । गठित समितिले यी जहाज सञ्चालन गर्न प्राविधिक, व्यावसायिक र आर्थिकरूपमा अनुपयुक्त भएको, बीमा खर्च तथा इन्धन खपत अत्यधिक रहेको, सीमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समेत समस्या रहेको प्रतिवेदन बुझाएको थियो ।

यी जहाज सञ्चालनमा रहँदा निगमले २०७१ सालदेखि २०७६ सालसम्मको अवधिमा सञ्चालन घाटा ७७ करोड ७४ लाख १० हजार रुपैयाँ व्यहोर्नु परेको उल्लेख गरेको छ । यस्तै, कुल घाटा एक अर्ब ९० करोड ६९ लाख ३३ हजार रुपैयाँ रहेको निगमले जनाएको छ । यी जहाज सञ्चालनमा राखिराखेमा अझै घाटा हुने आकलन गरेर नै निगमले जहाज सञ्चालनमा रोक लगाएको बताएको छ ।

निगमका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश कुमार भट्टराईको कार्यकालमा २०७७ असार १६ गते निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरू २०७७ साउन १५ गतेदेखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । त्यसपछि उक्त जहाजलाई व्यवस्थापन गर्ने सम्बन्धमा बिक्री, लिजलगायतका विभिन्न विकल्पसहित निगमका तत्कालीन महाप्रवन्धक डिमप्रकाश पौडेलले अर्थ मन्त्रालयमा पत्राचार गरेका थिए । पत्राचारपश्चात अर्थ मन्त्रालयले २०७७ चैत ४ गते जहाज लिजमा दिन वा बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरी २०७७ चैत १२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत निगमलाई निर्देशन दिएको थियो ।

यसैबीच निगमले उक्त जहाजहरू मर्मत गरी सञ्चालन गर्न सकिन्छ कि भनेर २०७८ मंसिर २२ गते एक उप–समिति गठन गरी अध्ययन प्रक्रियासमेत अगाडि बढाएको थियो । तर अध्ययनका क्रममा पाइलट एवं पार्टपुर्जा अभावलगायतका कारणले सञ्चालन गर्न कठिनाइ भएको र सोभन्दा अगाडि भएको सञ्चालक समिति एवं नेपाल सरकारको उपरोक्त निर्णयसमेतको कारण पुनः सञ्चालन प्रक्रिया अगाडि बढाउन नसकिने निर्णय भएको निगमले जनाएको छ । नेपाल सरकारको निर्णय एवम् निगमको सञ्चालक समितिको २०७९ साल भदौ २३ गतेको निर्णयबमोजिम उक्त जहाजहरू लिजमा दिनको लागि निगमले सोही वर्ष भदौ २९ गते नियमानुसार ४५ दिनको सूचना जारी गरेको थियो । तर, त्यस अवधिमा कुनै पनि आवेदन नपरेपछि निगमले फेरि २०७९ साल कात्तिक १६ गते १५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

दुवैपटक कुनै पनि आवेदन नपरेपछि नेपाल सरकारको निर्णयानुसार उक्त जहाजहरू बिक्री प्रक्रिया अगाडि बढाउनको लागि जहाजहरूको मूल्याङ्कनको प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । यी जहाजहरूको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको सञ्चालक समितिको निर्णय एवम् तालुकदार मन्त्रालयको समन्वयमा अगाडि बढाइने निगमले जानकारी गराएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया