Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगललितपुरमा जुत्ता चप्पल व्यापार मेला

ललितपुरमा जुत्ता चप्पल व्यापार मेला


काठमाडौं । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला बुधबारदेखि एक महिनासम्म सञ्चालन हुने भएको छ । “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित ललितपुरको जावलाखेलस्थित खेल मैदानमा मेला हुने आयोजकले जनाएको छ ।

मेलाको आयोजक नेपाली जुत्ता चप्पल उत्पादक समूहले सोमबार पत्रकार सम्मेलन आयोजना गरी बुधबारदेखि असार १७ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिएको हो । नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्राण्डहरू किरण सुज म्यानुफ्याक्चर्सको उत्पादनहरूको मेलामा सहभागिता रहने मेला संयोजक दिवाकर गिरीले जानकारी दिए । उनका अनुसार मेलामा गोल्डस्टार, रोयल सुज, विएफ डियर हिल र विएफ स्पोर्ट, क्रस रोड सुज, फस्टवाक सुज, सिल, हाई लाइफ, केटीएम, डिजे सुज गरी नौवटा कम्पनी र ब्राण्डहरूको सहभागिता रहनेछ । यस्तै, मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने छन् भने नयाँ उत्पादनहरूसमेत लन्च गरिने भएको छ । मेलामा नेपाली र गुणस्तरीय उत्पादन रहनेछन् । मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ ।

मेला अवधिभरमा तीन लाख अवलोकनकर्तालाई अवलोकन गराउने लक्ष्य राखिएको मेला संयोजक गिरीले जानकारी दिए । मेला अवधिभरमा पाँच करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । यस्तै, मेलामा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । आर्थिक मन्दी र बैंकहरूमा देखिएको आर्थिक तरलता तथा आर्थिक अभावका कारण विषम परिस्थितिमा रहेका उद्योगी व्यवसायीहरूको मस्तिष्कलाई सकारात्मक बनाउँदै देशको अर्थतन्त्रलाई गतिशील र चलायमान बनाउनका निमित्त मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया