Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहस्तकला महासंघद्वारा बजेटको स्वागत

हस्तकला महासंघद्वारा बजेटको स्वागत


काठमाडौं । नेपाल हस्तकला महासंघले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि संसद्मा प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ । देशको अर्थतन्त्रमा देखिएका समस्या र चुनौतीका बीच आएको बजेट निजी क्षेत्रको मनोबल उच्च पार्ने र दिगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ लक्षित रहेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतिस्पर्धी क्षमता तथा तुलनात्मक लाभ उच्च भएका उद्योग प्रवर्द्धन गर्ने युवालाई देशभित्र आर्थिक गतिविधिमा संलग्न गराउन प्रेरित गर्ने, उद्यमशीलता विकास गरी गरिबी न्यूनीकरणतर्फ बजेटले लिएको लक्ष्य सकारात्मक रहेको बताएका छन् । सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन, उत्पादकत्व र रोजगारीको अवसर वृद्धि गर्न सरकारले जोड दिने कुरा सकारात्मक रहेको उनले उल्लेख गरेका छन् । ‘आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार’ भन्ने बजेटले लिएको नारालाई सार्थक र सफल बनाउन स्थानीय स्रोत र साधनमा आधारित हस्तकला वस्तु उत्पादनसम्बन्धी सिप विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको महासंघले जनाएको छ ।

हस्तकला आन्तरिक बजार प्रवर्द्धनमा ठूलो सघाउ पुग्ने भएकोले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ । नवप्रवर्तनको लागि एक अर्ब विनियोजन गर्नु निकै सराहनीय रहेको उल्लेख गर्दै महासंघले नवप्रवर्तनभित्र हस्तकला क्षेत्रका लागि आवश्यक औजार, प्रविधि र कच्चा पदार्थसम्बन्धी अध्ययन र अनुसन्धान र उद्यमशीलता विकासका लागि पनि उक्त कोष परिचालन गर्नुपर्नेमा जोड दिएको छ ।

स्टार्टअपलाई प्रोत्साहन गर्ने सरकारको नीतिले युवा पिँढी आकर्षित भई उद्यमशीलता विकास र व्यवसाय विकासमा सघाउ पुग्ने महासंघले अपेक्षा गरेको छ । हस्तकला वस्तुको आन्तरिक उपभोग बढाउन र बजार प्रवर्द्धनका लागि देशका सातवटै प्रदेशमा व्यापार मेलाको आयोजना, सरकारले घोषणा गरेका औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रभित्र हस्तकला ग्रामको स्थापना, विदेशमा हुने अन्तर्राष्ट्रिय व्यापार मेलाका स्टल भाडामा अनुदान सहयोग गर्नुपर्ने, इ—कमर्सको माध्यमबाट हस्तकलाको बजारीकरणमा सहयोग गर्न आवश्यक इ–पोर्टल निर्माणका लागि अनुदान दिनुपर्ने महासंघको माग छ ।

यस्तै, परम्परागतरूपमा सञ्चालन भएका हस्तकला उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिको लागि प्रविधि सुधार, मेसिन प्रतिस्थापन र पूर्वाधार निर्माणको लागि दिइने सहुलियतपूर्ण ऋण सरल प्रक्रियाबाट उपलब्ध गराउन महासंघले जोड दिएको छ । यस क्षेत्रमा रहेका परम्परागत सिप र प्रविधि संरक्षण गर्नका लागि नयाँ पुस्तामा उक्त सिप र प्रविधि हस्तान्तरण तथा पुस्तान्तरणका लागि आवश्यक तालिम सञ्चालन गर्न बजेट विनियोजन गर्न महासंघले माग गरेको छ । हस्तकला क्षेत्रमा फेल्टजन्य वस्तु, हाते कागजजन्य वस्तु, काष्ठकला, प्राकृतिक रेसाजन्य वस्तुसम्बन्धी उद्योगहरूमा सञ्चालन गर्न सकिने भएकोले यसको लागि न्यूनतम पारिश्रमिकका अतिरिक्त तालिम सामग्रीको खर्च सरकारले व्यहोरेको अवस्थामा तालिम थप प्रभावकारी हुने महासंघको विश्वास छ ।

महासंघले निर्यातमा दिँदै आएको नगद अनुदान सरल किसिमबाट प्रदान गर्न निर्यात भएको प्रमाणित हुने कागजातहरू निर्यात प्रज्ञापन पत्र एयर वे विल र निर्यातको लागि रकम प्राप्त भएको अग्रिम भुक्तानीको आधारमा निर्यातकर्ताको सम्बन्धित बैंक खातामा जम्मा हुने व्यवस्था गर्न पनि माग गरेको छ । सार्वजनिक खरिद ऐन र नियमावलीलाई सरल र प्रभावकारी तुल्याई तीनै तहका सरकारबाट नेपाली हस्तकला वस्तुहरूको बढीभन्दा बढी उपभोग गर्ने महासंघ आशावादी रहेको विज्ञप्तिमा उल्लेख छ । हस्तकला विकास नीति, सार्क हस्तकला विकास केन्द्र सञ्चालन र हस्तकला ग्राम स्थापनाको विषयमा भने बजेट मौन रहनु यस क्षेत्रको संस्थागत र दिगो विकासको लागि दुर्भाग्यपूर्ण रहेको महासंघले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया