Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलुम्बिनी केबलकारको उद्घाटन प्रधानमन्त्रीले गर्ने

लुम्बिनी केबलकारको उद्घाटन प्रधानमन्त्रीले गर्ने


काठमाडौं । आईएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भएका छन् । लुम्बिनी केबलकार व्यावसायिकरूपमा सञ्चालन हुने गरी आज अर्थात् बिहीबार प्रधानमन्त्री दाहालले औपचारिक उद्घाटन गर्न लागेका हुन् ।

लुम्बिनी केबलकार सञ्चालनमा आएसँगै पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गेधारा, पोखरी आदि संरचनाहरूले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि यही जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मूर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरू गरिएको थियो । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरूले धार्मिक प्रवचन दिएका थिए । बसन्तपुरमा भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ । कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।

केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको दुई प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्याउने छ । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन किलोमिटर दूरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई समूहले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आईएमई समूहले काठमाडौंको चन्द्रागिरि र हालै नवलपुरको गैँडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । भारतको गोरखपुर, लखनउलगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए । केबलकार र रिसोर्टसहितको आयोजनाको कुल लागत पाँच अर्ब रुपैयाँ छ । कम्पनीका अनुसार पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने होटल, बाल उद्यान, स्काइवाक, जीपलाइन निर्माणको क्रममा छन् । मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोन्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । खास गरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे तीन अर्ब लागतमा पाँचतारे होटललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया