Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा कोरोना रोकथाम कोषमा एक करोड ६८ लाख रूपैयाँ सहयोग

सानिमा बैंकद्वारा कोरोना रोकथाम कोषमा एक करोड ६८ लाख रूपैयाँ सहयोग


काठमाडौं, वैशाख १५
सानिमा बैंकले कोरोना रोकथाम कोषमा रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषलाई एक करोड ६८ लाख रूपैयाँ सहयोग गरेको हो । उक्त रकममा कर्मचारीहरूको तर्फबाट ३३ लाख रूपैयाँ प्रदान गरिएको जानकारी पनि बैंकले दिएको छ । बैंकका अनुुसार केन्द्रीय सरकारअन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाख रूपैयाँका दरले ७० लाख सहयोग गरिएको हो ।

बैंकको प्रादेशिक कार्यालयका प्रतिनिधिहरूमार्फत आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको बैंकले जनाएको छ । यो सहयोगबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मदत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले काठमाडौँ उपत्यकाभित्र र बाहिरका विभिन्न शाखाहरूबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै विभिन्न डिजिटल बैंकिङ च्यानलहरूमार्फत निःशुल्क सेवा प्रदान गर्दै आइरहेको जानकारी बैंकले दिएको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड ७४ लाख ६५ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ९८ करोड २० लाख ८७ हजार रूपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी आठ अर्ब ८० करोड १३ लाख ८१ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ९९ अर्ब ३० करोड ५० लाख एक हजार रूपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ७१ करोड २९ लाख २८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अविधा दुई अर्ब १६ करोड ६९ लाख ८७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ९५ करोड नौ लाख २३ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २४ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले ८९ अर्ब ३७ करोड ३७ लाख २९ हजार रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ४१ करोड ८८ लाख ६१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ९० करोड ९४ लाख ४० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव २४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया