Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसरकारलाई ऋण नै ऋणको भारी

सरकारलाई ऋण नै ऋणको भारी

पुनः दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक


काठमाडौं । सरकारले ऋण नै ऋणको भारी बोकेको छ । आर्थिक वर्ष २०७९–०८० को बजेट कार्यान्वयन गर्ने क्रममा नेपाल राष्ट्र बैंकले सरकारको लागि दुई खर्ब ५६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाइदिएको थियो ।

सरकारको आर्थिक नीति अर्थात् बजेटलाई वित्त नीतिमा रूपान्तरण गर्ने जिम्मेवारी बोकेको राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–०८१ मा पनि सरकारको लागि दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋणको जोहो गर्ने तयारीस्वरूप आन्तरिक ऋणको लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गरेकोमा बजेटको स्रोत प्राप्तिअन्तर्गत राजस्वबाट कुल १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य सरकारले लिएको छ ।

यसैगरी वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको सरकारले बजेट कार्यान्वयन गर्न बाँकी रकमको लागि ऋण नै लिनुपर्नेछ । सोहीअनुरूप बजेटको स्रोत प्राप्तिअन्तर्गत नै बजेट कार्यान्वयनको लागि अपुग रहेको चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँबराबरको रकमको जोहो आन्तरिक एवं बाह्य ऋणबाट गर्नुपर्ने देखिन्छ । ‘यसको लागि वैदेशिक ऋणबाट दुई खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको सरकारले बाँकी दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण भने राष्ट्र बैंकमार्फत उठाउनेछ ।

बजेटको सोही लक्ष्यअनुसार नै केन्द्रीय बैंकले चालू आर्थिक वर्षको लागि आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गरेको हो’, राष्ट्र बैंकका सहायक प्रवक्ता एवं सूचना अधिकारी नारायणप्रसाद पोखरेलले भने, ‘ट्रेजरी बिल, विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रलगायतका मौद्रिक उपकरणहरू बिक्री गरेर केन्द्रीय बैंकले बजेटले निर्दिष्ट गरेको लक्ष्यअनुसारको आन्तरिक ऋण उठाउँछ ।’ तर, बजेट कार्यान्वयनमा जाने क्रममा सरकारले बजेटको आकारमा लक्ष्यलाई परिमार्जन गरेको गरेको खण्डमा आन्तरिक ऋणको यो तालिका पनि सोहीअनुसार परिमार्जन हुने पोखरेलको भनाइ छ । ‘राष्ट्र बैंकले सरकारको लागि चालू आवमा दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भए पनि आम नागरिकले किन्नसक्ने ऋणपत्र भने वैदेशिक रोजगार बचतपत्र र नागरिक बचतपत्र मात्र रहेको छ’, पोखरेलले भने, ‘आन्तरिक ऋणको लागि जारी हुने बाँकी मौद्रिक उपकरणहरू भने बैंक तथा वित्तीय संस्थाको लागि मात्र हो ।’

आन्तरिक ऋण उठाउनको लागि राष्ट्र बैंकले चालू आवको पहिलो त्रैमासमा ५५ अर्ब, दोस्रो त्रैमासमा ५५ अर्ब, तेस्रो त्रैमासमा ५३ अर्ब र चौथो त्रैमासमा ७७ अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गरिने उनले बताए । यसरी बिक्री गरिने मौद्रिक उपकरणहरूमध्येमा २८, ९१, एक सय ८२ र तीन सय ६४ दिने ट्रेजरी बिलको हिस्सा ५५ अर्ब रुपैयाँ रहेको छ । यसअन्तर्गत चालू आवको पहिलो त्रैमासमा पाँच अर्ब, दोस्रो त्रैमासमा १० अर्ब, तेस्रो त्रैमासमा १५ अर्ब र चौथो त्रैमासमा २५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री हुनेछ ।

कुल आन्तरिक ऋणमा विकास ऋणपत्रको हिस्सा भने एक खर्ब ७९ अर्ब रुपैयाँ रहेको छ । यसअन्तर्गत पाँच, छ र आठ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गरेर चालू आवको पहिलो त्रैमासमा ५० अर्ब, दोस्रो त्रैमासमा ४५ अर्ब, तेस्रो त्रैमासमा ३५ अर्ब र चौथो त्रैमासमा ४९ अर्ब रुपैयाँ उठाउने राष्ट्र बैंकको तयारी रहेको छ । बजतपत्रतर्फ भने पाँच वर्ष अवधिको नागरिक बचतपत्र बिक्री गरेर पाँच अर्ब र पाँच वर्ष अवधिको वैदेशिक रोजगार बजतपत्र बिक्री गरेर एक अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने तयारी राष्ट्र बैंकको रहेको छ । राष्ट्र बैंकका अनुसार यी दुवै किसिमका बचतपत्र चालू आवको दोस्रो र तेस्रो त्रैमासमा जारी हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया