Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारखुम्चियो विकास बैंकहरूको नाफा

खुम्चियो विकास बैंकहरूको नाफा


काठमाडौं । विकास बैंकहरूको नाफा खुम्चिएको छ । सञ्चालनमा रहेका १७ मध्ये हालसम्म १४ वटा विकास बैंकले आर्थिक वर्ष २०७९/०८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सोअनुसार विकास बैंकहरूले गत आर्थिक वर्षमा कुल पाँच अर्ब ९३ करोड ५२ हजार आठ सय ७० रूपैयाँ खुद मुनाफा कमाएका छन् । विकास बैंकहरूले कमाएको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९ करोड ६७ लाख १३ हजार एक सय ३० रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूको नाफा छ अर्ब ४२ करोड ६७ लाख ६६ हजार रूपैयाँ थियो ।

आर्थिक वर्ष २०७९/०८० को सुरुवातमा अर्थतन्त्र कमजोर बन्दा विकास बैंकहरूको निक्षेप र कर्जा प्रवाह दुवैमा संकुचन देखिएको हो । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव हुनु, अर्थतन्त्र चलायनमा हुन नसक्दा बैंकहरूको नियमित ब्याज आम्दानी घटेका कारण विकास बैंकहरूको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा खुम्चिएको हो । हालसम्म एक्सेल, सप्तकोशी र सहारा विकास बैंक बाहेकका १४ वटा बैंकहरूले आर्थिक वर्ष २०७९/०८० को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । यीमध्ये आठवटा विकास बैंकहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । पाँचवटा विकास बैंकको नाफा सामान्य बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक घाटामा छ ।

विकास बैंकहरूमध्येमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । त्यसपछि बढी नाफा कमाउने दोस्रो र तेस्रो स्थानमा गरिमा र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक छ । मुक्तिनाथले एक अर्ब ३६ करोड ३८ लाख ६७ हजार रूपैयाँ खुद मुनाफा कमाएको छ । गरिमा विकास बैंकले एक अर्ब २१ करोड २७ लाख ७२ हजार रूपैयाँ र साइन रेसुङ्गाले ६८ करोड ६८ लाख २६ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा मुक्तिनाथले एक अर्ब ३४ करोड १८ लाख पाँच हजार रूपैयाँ खुद मुनाफा कमाएको थियो । गरिमाले ८९ करोड चार लाख ५७ हजार रूपैयाँ र शाइन रेसुङ्गाले ६४ करोड ८७ लाख सात हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए । लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक र महालक्ष्मी विकास बैंकले पनि क्रमशः ६१ करोड २४ लाख ८२ हजार, ५५ करोड ३२ लाख एक हजार र ४७ करोड नौ लाख ६२ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूले क्रमशः ६३ करोड ७१ लाख ९३ हजार, ६७ करोड एक हजार र ९० करोड ४७ लाख ९६ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए । यसैगरी कामना सेवा, सांग्रिला र मितेरी डेभलपमेन्ट बैंकले क्रमशः ४३ करोड ११ लाख ९८ हजार, ३४ करोड ३७ लाख २१ हजार र १६ करोड दुई लाख २९ हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी बैंकहरूको क्रमशः ५९ करोड ८५ हजार, ५२ करोड ७१ लाख ७३ हजार र १४ करोड ७८ लाख ५३ हजार रूपैयाँ खुद मुनाफा कमाएका थिए ।

आर्थिक वर्ष २०७९/०८० मा कर्णाली, कर्पोरेट, ग्रिन र सिन्धु विकास बैंकले क्रमशः चार करोड ४३ लाख १३ हजार, एक करोड ८५ लाख १४ हजार, एक करोड ८४ लाख ८९ हजार र एक करोड ३४ लाख तीन हजार रूपैयाँ खुद मुनाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने कर्णाली विकास बैंकले तीन करोड ७९ लाख २९ हजार रूपैयाँ खुद नोक्सानी व्यहोरेको थियो भने बाँकी तीनवटा बैंकहरूले क्रमशः ३७ लाख ३७ हजार, एक करोड ८६ लाख ७५ हजार र चार करोड ६३ लाख रूपैयाँ खुद मुनाफा कमाएका थिए । आर्थिक वर्ष २०७९/८० मा नारायणी डेभलपमेन्ट बैंक दुई करोड ९१ लाख ४२ हजार रूपैयाँ खुद नोक्सानीमा छ । अघिल्लो आर्थिक वर्षमा नारायणीको नोक्सानी छ करोड ४२ लाख ४८ हजार रूपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया