Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारयस्तो छ २० वाणिज्य बैंकको वित्तीय स्वास्थ्य

यस्तो छ २० वाणिज्य बैंकको वित्तीय स्वास्थ्य


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार वाणिज्य बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर बैंकहरूको अहिलेको समस्या के हो ? भनेर सोधेका थिए । जवाफमा बैंकका सीईओहरूले अर्थतन्त्र चलायमान नभएको कारण कर्जाको माग बढ्न नसकेको बताए । तर, त्यहाँ अर्थतन्त्र किन चलायमान हुन सकेन भन्ने विषयमा कुनै विमर्श भएन । चर्को ब्याजदरका कारण आन्तरिक अर्थतन्त्र प्रभावित भएको र बजारमा माग घटेको विषयमा छलफल नै भएन ।

गत आर्थिक वर्षको वित्तीय विवरणहरू हेर्दा अर्थतन्त्रमा मन्दी देखा परे पनि बैंकहरूको नाफामा खासै गिरावट आएको छैन । बरु मन्दीका कारण बैंकको ब्याज र किस्ता भुक्तानी गर्न नसकेर करिब ३४ हजार ऋणी कालोसूचीमा परेका छन् । यही कारण बैंकहरूको खराब कर्जा पनि करिब तीन प्रतिशत पुगेको छ । बैंकहरूले जोखिम व्यवस्थापनमा ठूलो रकम छुट्याउनु पर्दा उच्च ब्याज आम्दानी भए पनि वितरणयोग्य मुनाफा खुम्चिन पुगेको देखिन्छ ।

वित्तीय विवरणअनुसार अधिकांश वाणिज्य बैंकहरूको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ । तर बैंकहरूको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको देखिन्छ । पुँजी वृद्धिको तुलनामा नाफा कम हुँदा यस्तो देखिएको बैंकर बताउँछन् । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणको आधारमा खुद नाफा, जगेडा कोष, निक्षेप संकलन, कर्जा लगानी, निष्क्रिय कर्जा, नोक्सानी व्यवस्था, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ, मूल्य आम्दानी अनुपातलगायतका सूचकको अवस्था विश्लेषण गरिएको छ ।

खुद नाफा : गत आर्थिक वर्षमा २० वाणिज्य बैंकहरूले कुल ७० अर्ब १५ करोड रुपैयाँ नाफा कमाएका छन् । वाणिज्य बैंकहरूको औसत नाफा तीन अर्ब ५१ करोड रुपैयाँ छ । नबिल बैंकले सर्वाधिक सात अर्ब ५३ करोड कमाएको छ । नबिलपछि ग्लोबल आईएमई बैंकको नाफा धेरै छ । ग्लोबल आईएमईले सात अर्ब २५ करोड रुपैयाँ कमाएको छ । ग्लोबलले अघिल्लो आर्थिक वर्षमा पाँच अर्ब २१ करोड रुपैयाँ कमाएको थियो । धेरै नाफा कमाउने बैंकमध्ये तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले चार अर्ब ९२ करोड रुपैयाँ कमाएको छ । नाफाको वृद्धिदर सबैभन्दा उच्च हुने बैंकमा स्टान्डर्ड चार्टर्ड बैंक छ । स्टान्डर्ड चार्टर्डको नाफा ५५ दशमलव ५१ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष दुई अर्ब २७ करोड रुपैयाँ नाफा कमाएको यो बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ५३ करोड रुपैयाँ कमाएको छ ।

सबैभन्दा कम नाफा माछापुच्छ्रे बैंकले एक अर्ब ८५ करोड रुपैयाँ कमाएको छ । यो मुनाफा एक वर्षअघिको तुलनामा १४ दशमलव ३५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले दुई अर्ब १६ करोड रुपैयाँ कमाएको थियो ।

वितरणयोग्य मुनाफा : एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा सबैभन्दा धेरै छ । एभरेष्ट बैंकले ४० रुपैयाँ ५० पैसा प्रतिसेयरका दरले नाफा वितरण गर्ने क्षमता बनाएको छ । एभरेष्टपछि एनआईसी एसिया बैंकको वितरणयोग्य मुनाफा धेरै छ । एनआईसीले ३१ रुपैयाँ ९९ पैसा वितरण गर्न सक्छ । स्टाण्डर्ड चार्टर्ड बैंकको पनि वितरणयोग्य मुनाफा उच्च छ । अघिल्लो वर्षको तुलनामा साढे पाँच रुपैयाँले बढेर २८ रुपैयाँ ९९ पैसा कायम छ । यसबाहेक सबै बैंकको वितरणयोग्य मुनाफा २० रुपैयाँभन्दा कम छ । पाँचवटा वाणिज्य बैंक नाफा वितरण गर्ने स्थितिमा छैनन् । हिमालयन बैंक र कुमारी बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक छ । नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंकको एक रुपैयाँभन्दा कम छ भने प्राइम कमर्सियल बैंकको एक रुपैयाँ छ पैसा छ ।

जगेडा कोष : सबै वाणिज्य बैंकको जगेडा कोषमा तीन खर्ब सात अर्ब रुपैयाँ छ । बैंकहरूको सञ्चिति तथा बचत औसत १५ अर्ब ३६ करोड रुपैयाँ छ । सबैभन्दा धेरै राष्ट्रिय वाणिज्यसँग ३८ अर्ब ४० करोड रुपैयाँ सञ्चिति छ । यसपछि नबिल बैंकको ३१ अर्ब तीन करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २४ अर्ब चार करोड रुपैयाँ रिजर्भ छ । सबैभन्दा कम रिजर्भ कोष राख्ने बैंक माछापुच्छ्रे बैंक छ । यो बैंकले कुल छ अर्ब ८२ करोड रुपैयाँ सञ्चिति राखेको छ । यसमा चार अर्ब ७१ करोड रिजर्भ कोषमा छ भने दुई अर्ब २१ करोड ‘रिटेन्ड अर्निङ’मा छ ।

निक्षेप : गएको वर्ष वाणिज्य बैंकहरूको कुल निक्षेप ५० खर्ब चार अर्ब २५ करोड रुपैयाँ छ । २० वाणिज्य बैंकको औसत निक्षेप दुई खर्ब ५० अर्ब २१ करोड रुपैयाँ छ । नौवटा वाणिज्य बैंकको निक्षेप औसतभन्दा बढी छ । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले चार खर्ब २६ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसपछि नबिल बैंकको तीन खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप छ । तीन खर्ब बढी निक्षेप हुने बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक पनि छन् । तीन अर्बभन्दा कम र दुई अर्बभन्दा बढी निक्षेप संकलन गर्ने बैंकहरूमा लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, हिमालयन बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक रहेका छन् ।

दुई अर्बभन्दा कम निक्षेप संकलन हुने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंक छन् । सबैभन्दा कम निक्षेप स्टान्डर्ड चार्टड बैंकसँग एक खर्ब १७ अर्ब ५० करोड रुपैयाँ छ ।

ऋण लगानी : वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा कुल ४१ खर्ब २२ अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २० वाणिज्य बैंकले प्रवाह गरेको औसत कर्जा दुई खर्ब छ अर्ब १५ करोड रुपैयाँ छ । नौवटा वाणिज्य बैंकको कर्जा प्रवाह औसतभन्दा धेरै छ । सबैभन्दा धेरै ग्लोबल आईएमई बैंकले तीन खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसपछि नबिल बैंकले तीन खर्ब ३२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । धेरै कर्जा प्रवाह गर्ने बैंकहरूमध्ये तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । यो बैंकले तीन खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । दुई खर्बभन्दा बढी र तीन खर्बभन्दा कम कर्जा प्रवाह गर्ने बैंकहरूमा कुमारी बैंक, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । औसतभन्दा कम अर्थात् दुई खर्बभन्दा कम कर्जा प्रवाह गर्ने वाणिज्य बैंकहरूमा एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, प्राइम कर्सियल बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन् । स्टान्डर्ड चार्टर्ड बैंकले जम्मा ७७ अर्ब ८६ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा (खराब कर्जा) तरलतामा परेको दबाब र कर्जाको माग खुम्चिए पनि बैंकहरूले राम्रो मुनाफा गरेका छन् । तर, अर्थतन्त्रमा देखिएको शिथिलताका कारण बैंकहरूको खराब कर्जामा वृद्धि भएको छ । बैंकहरूको औसत खराब कर्जा दुई दशमलव ७० प्रतिशत छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा औसत खराब कर्जा एक दशमलव २२ प्रतिशत थियो । यद्यपि गतवर्ष चैत मसान्तमा भन्दा खरब कर्जा केही घटेको छ । चौथो त्रैमासमा केही ऋण उठेको र तरलता पनि सहज बनेका कारण खराब कर्जामा सुधार देखिएको हो । गत चैत मसान्तमा बैंकहरूको औसत खराब कर्जा तीन दशमलव २३ प्रतिशत थियो । ११ वाणिज्य बैंकको खराब कर्जा औसतभन्दा धेरै छ । वित्तीय विवरणहरूअनुसार कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत छ । कुमारीपछि हिमालयन बैंकको चार दशमलव ५७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चार दशमलव ३५ प्रतिशत, प्राइम कमर्सियल बैंकको चार दशमलव २३ प्रतिशत, प्रभु बैंकको चार दशमलव १६ प्रतिशत निष्क्रिय कर्जा छ । सिटिजन्स बैंक इन्टरनेसनल र ग्लोबल आईएमई बैंकको निष्क्रिय कर्जा तीन प्रतिशतभन्दा केही बढी छ । तीन प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबी बैंक, कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक छन् । यसबाहेक सानिमा बैंक, नबिल बैंक र स्टान्डर्ड चार्टर्डको निष्क्रिय कर्जा एक प्रतिशतभन्दा बढी छ भने एनआईसी एसिया र एभरेष्ट बैंकको एक प्रतिशतभन्दा कम छ । सबैभन्दा कम एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत मात्रै निष्क्रिय कर्जा छ ।

No description available.

नोक्सानी व्यवस्था : बैंकहरूले प्रबाह गरेको कर्जाको साँवाब्याज तोकिएको समयमा असुल भएन भने त्यस्तो कर्जालाई जोखिमयुक्त कर्जा मानिन्छ । जोखिममा परेका कर्जाबापत बैंकहरूले नियामक निकायले तोकेबमोजिम जोखिम व्यहोर्ने कोषमा छुट्याउनु पर्छ । बैंकहरूले यस्तो रकम इम्पेरिमेन्ट चार्ज शीर्षकमा राख्नुपर्छ । बैंकको इम्पेरिमेन्ट चार्ज बढ्दै जाँदा सेयरधनीलाई दिने प्रतिफल पनि घट्दै जान्छ । गत आर्थिक वर्षमा सबैजसो वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा बढेको देखिन्छ । २० वटा वाणिज्य बैंकहले कर्जा नोक्सानी कोषमा छुट्याएको कुल रकम ३४ अर्ब ११ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा निष्क्रिय कर्जा बढेपछि कर्जा नोक्सानीबापत बढी पैसा छुट्याउनुपरेको देखिन्छ । सबैभन्दा धेरै कुमारी बैंकले पाँच अर्ब ७४ करोड रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ । त्यसपछि नबिल बैंकले तीन अर्ब ८९ करोड रुपैयाँ छुट्याएको छ । सात बैंकले एक अर्बभन्दा कम रकम छुुट्याएका छन् । सबैभन्दा कम एनआईसी एसियाले ३९ करोड रुपैयाँ छुट्याएको छ ।

प्रतिसेयर आम्दानी : कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर संख्याले भाग गर्दा प्रतिसेयर आम्दानी प्राप्त हुन्छ । प्रतिसेयर आम्दानीले नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको संकेत मानिन्छ ।

एनआईसी एसिया बैंकको प्रतिसेयर आम्दानी सर्वाधिक ४० रुपैयाँ २२ पैसा छ । एनआईसी एसियापछि स्टान्डर्ड चार्टर्डको ३७ रुपैयाँ ३९ पैसा छ । एभरेष्ट बैंकको ३१ रुपैयाँ ३२ पैसा र राष्ट्रिय वाणिज्य बैंकको ३१ रुपैयाँ ४५ पैसा छ । सेयरधनीलाई सबैभन्दा कम प्रतिफल दिने बैंक कुमारी बैंक छ । यो बैंकको प्रतिसेयर आम्दानी सात रुपैयाँ ४६ पैसा मात्रै छ । वाणिज्य बैंकहरूको औसत प्रतिसेयर अम्दानी अनुपात २१ रुपैयाँ छ । नौवटा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी औसतभन्दा बढी छ भने ११ वटाको कम छ ।

प्रतिसेयर नेटवर्थ : चुक्ता पुँजी र सम्पूर्ण जगेडाहरूको कुल जोड नै कम्पनीको नेटवर्थ हो । नेटवर्थलाई कम्पनीको कुल सेयर संख्याले भाग गरेमा प्रतिसेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै प्रतिसेयर नेटवर्थ राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । यो बैंकको प्रतिसेयर नेटवर्थ तीन सय ४५ रुपैयाँ ५८ पैसा छ । यसपछि एनआईसी एसिया बैंकको दुई सय ५६ रुपैयाँँ ४१ पैसा प्रतिसेयर नेटवर्थ छ । सबैभन्दा कम किताबी मूल्य कुमारी बैंकको एक सय ४० रुपैयाँ ४७ पैसा रहेको छ ।

२० वटै वाणिज्य बैंकहरूको औसत प्रतिसेयर नेटवर्थ एक सय ८१ रुपैयाँ एक पैसा कायम छ । यस आधारमा आठ वाणिज्य बैंकहरूको प्रतिसेयर नेटवर्थ औसतभन्दा बढी छ भने १२ वटाको औसतभन्दा कम छ ।

मूल्य आम्दानी अनुपात : कम्पनीको तत्कालको सेयरमूल्यलाई पछिल्लो प्रतिसेयर आम्दानीले भाग गर्दा आउने अनुपात नै मूल्य आम्दानी अनुपात हो । यसलाई ‘पीई रेसियो’ भनेर बुझिन्छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएका र नाफा कमाएका कम्पनीहरूको मात्रै मूल्य आम्दानी अनुपात निकाल्न सकिन्छ । मूल्य आम्दानी अनुपातले कम्पनीले कमाएको एक रुपैयाँबराबरको आम्दानीको लागि लगानीकर्ता कति तिर्न तयार हुन्छन् भन्ने देखाउँछ । वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कुमारी बैंकको मूल्य आम्दानी अनुपात सबैभन्दा धेरै २२ दशमलव १२ गुणा छ । यसको अर्थ कम्पनीले कमाएको एक रुपैयाँ आम्दानीका लागि बजारमा लगानीकर्ताले २२ रुपैयाँ १२ पैसा तिरिरहेका छन् भन्ने बुझिन्छ । नबिल बैंकको मूल्य आम्दानी अनुपात पनि २१ दशमलव ५४ गुणा छ । नबिल बैंकले कमाएको एक रुपैयाँका लागि लगानीकर्ताले २१ रुपैयाँ ५४ पैसा तिरिरहेका छन् । सबैभन्दा कम मूल्य आम्दानी अनुपात ग्लोबल आईएमई बैंकको आठ दशमलव ९६ गुणा छ । यसको अर्थ ग्लोबल आईएमई बैंकले कमाएको एक रुपैयाँका लागि लगानीकर्ताले आठ रुपैयाँ ९६ पैसा तिरिरहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया