Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी

आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार काठमाडौँमा आयोजित वित्तीय साक्षरता टेलिभिजन कार्यक्रम उद्घाटन समारोहमा बोल्दै कम्युटर र मोबाइलमार्फत हुने भुक्तानी बढ्दै गएको अवस्थामा आम जनमानसमा पनि वित्तीय साक्षरता बढाउन आवश्यक रहेको धारणा राखे ।

उनले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताएका छन् । राष्ट्र बैँकले वित्तीय साक्षरतासम्बन्धी नयाँ मार्गनिर्देशन तयार गरेर अगाडि बढेको उनले जानकारी दिए । बैँक र व्यवसायीबीचको असमझदारी कम गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्ने उनको भनाइ छ ।

“प्रविधिको विकाससँगै बैंक तथा वित्तीय क्षेत्रले नयाँ सेवा सुरुआत गरेका छन्, ती सेवा र विशेषताबारे आम जनमानसबीच जानकारी गराउनका लागि वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने विश्वास नेपाल राष्ट्र बैँकले लिएको छ”, उनले भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले वित्तीय क्षेत्रको बारेमा आम जनमानसलाई ज्ञान दिनसके देशको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वित्तीय साक्षरताको ज्ञान अभावका कारण बैँक तथा वित्तीय क्षेत्रलाई आम जनमानसले हेर्ने दृष्टिकोण नकारात्मक भएको बताए ।

पछिल्लो समय रेमिट्यान्स बढ्नु, नेपालमा विदेशी पर्यटकको आगमन बढ्नु, बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउँदै लैजानु अर्थतन्त्रका लागि सकारात्मक विषय भएको अध्यक्ष ढकालले बताए ।

देशभर वित्तीय साक्षरता पुर्‍याउन सके बैंक र उद्योग क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास नेपाल बैँकर्स सङ्घका अध्यक्ष सुनिल केसीले व्यक्त गरे । आम जनमानसलाई वित्तीय साक्षरता बारेमा जानकारी दिनु जरुरी रहेको उनको भनाइ थियो । अध्यक्ष केसीले बैंक तथा वित्तीय क्षेत्रले वार्षिक रु. ४० अर्ब राजश्व बुझाउने गरेको र झण्डै एक लाख जनतालाई रोजगार प्रदान गरेको जानकारी दिए ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया