गुणात्मक पक्षलाई ध्यान दिन प्राधिकरणका अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह गर्न जीवनबीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणबाट जीवनबीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतसँग शुक्रबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बीमा व्यवसायलाई विस्तार गर्न र बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ भन्नेमा बीमितहरू ढुक्क हुने वातावरण बनाउन कम्पनीहरूलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले यो वर्ष सुधारको वर्ष भएकाले समस्याहरू आउन नदिन, विगतका समस्याहरू दोहोरिन नदिन र संख्यात्मकभन्दा गुणात्मक पक्षलाई ध्यान दिई कार्य गर्न निर्देशन दिएका हुन् । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीका सञ्चालक समितिहरूले कम्पनीमा नीति, विधि र रणनीतिको पालनामा के भइरहेको छ भन्नेमा नियमितरूपमा जानकारी राख्नुपर्छ, व्यवस्थापनसँग निरन्तर संवाद गर्नुपर्छ, व्यवस्थापनबाट कमी कमजोरी भएको छ/छैन भन्ने हेर्नुपर्छ, व्यवस्थापनबाट तोकिएको जिम्मेवारी पूरा भएको छ/छैन भन्ने बारेमा जानकारी राख्नुपर्छ ।’
प्राधिकरणले जारी गरेको लगानी निर्देशिकाबमोजिम तोकिएको अवधिभित्र लगानी विविधीकरण गर्न पुनः निर्देशन दिँदै अध्यक्ष सिलवालले भने, ‘प्राधिकरणले जोखिम कम गर्न लगानी विविधीकरण गर्न भनेको हो, बजारमा लगानी गर्ने अन्य संस्थाले मुनाफा प्राप्त गर्ने तर बीमा कम्पनीको लगानीबाट मुनाफा नपाउने भन्ने हुँदैन, बीमा कम्पनीहरूले बजारको अध्ययन विश्लेषण गरी विभिन्न क्षेत्रमा लगानी गर्नुपर्छ ।’ लगानीकर्तालाई मुनाफा दिन र कम्पनीमा लगानी टिकाइराख्न पनि राम्रो प्रतिफल प्राप्त हुनेगरी कम्पनीहरूले लगानी विविधीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
कतिपय बीमा कम्पनीहरूमा मर्जरपछि पनि समस्याहरू देखिएको उल्लेख गर्दै अध्यक्ष सिलवालले कम्पनीलाई फराकिलो हुन र कर्मचारीसँग सम्बन्धितलगायतका समस्याहरू आफैं समाधान गर्न सुझाव दिए । अध्यक्ष सिलवालले भने, ‘बीमा कम्पनीहरूले बैंक र बीमाबीचको फरक बुझाउन सक्नुपर्छ, बैंकले बचत गर्छ तर बीमाले जोखिम समेत बहन गर्छ भन्ने कुरा सबैलाई बुझाउन सक्नुपर्छ, बैंकमार्फत बीमा गराउने कम्पनीले बैंकले गर्ने विज्ञापनमा अनिवार्यरूपमा आफ्नो नाम राख्न लगाउनुपर्छ, कम्पनीहरूको सुशासनमा देखिएका कमजोरी हटाउनुपर्छ ।’
अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले समस्याहरू दोहो-याइरहे, अस्वस्थ प्रतिस्पर्धा जारी राखे र कानुन, नीतिनियम र निर्देशिकाहरू पालना नगरे कानुनबमोजिम कारबाही गर्न प्राधिकरण बाध्य हुने चेतावनी समेत दिएका छन् । अबको कारबाही कडा हुने उल्लेख गर्दै कारबाहीको अवस्था आउन नदिने गरी काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले सुशासनमा देखिएका समस्या समाधान गर्न, बढ्दै गएको सरेण्डरलाई कम गर्न, वित्तीय जोखिमाङ्कन र मेडिकल जोखिमाङ्कनमा देखिएका समस्या समाधान गर्न र डिजिटलाइज्डरूपमा दाबी भुक्तानी दिने व्यवस्था गर्न ध्यान दिनुपर्ने बताए ।
कार्यकारी निर्देशक पौडेलले बीमा व्यवसायमा नयाँ प्रविधि भित्र्याउन, बजार अनुसन्धान गरी नयाँ नयाँ बीमालेख ल्याउन र सबै मिलेर उन्नतरूपमा सुशासनका साथ कम्पनीलाई अगाडि बढाउन निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल (अधिकारी) ले जीवनबीमा व्यवसायमा देखिएका समस्यासम्बन्धी प्रस्तुति प्रस्तुत गर्दै बीमा कम्पनीहरूको वित्तीय र मेडिकल जोखिमाङ्कन कमजोर रहेको, बजार अनुसन्धान गरी बीमालेख नल्याइएको, प्रवर्द्धनात्मक कार्यमा लगानी नभएको, कर्मचारीहरूको तालिम र संस्थागत सामाजिक उत्तरदायित्वमा पर्याप्त लगानी नभएको, दाबी भुक्तानी मार्गदर्शन कार्यान्वयनमा नआएकोलगायतका समस्याहरू बीमा कम्पनीहरूको स्थलगत अनुगमनबाट देखिएको जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया