Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघरजग्गामा बैंकहरूको छ खर्ब ऋण

घरजग्गामा बैंकहरूको छ खर्ब ऋण


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा झण्डै छ खर्ब रूपैयाँ कर्जा (ऋण) लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा व्यक्तिगत अवास र रियलस्टेट क्षेत्रमा कुल पाँच खर्ब ९८ अर्ब ३१ करोड ३० लाख रूपैयाँ कर्जा प्रवाह गरेका हुन् । जसमध्ये व्यक्तिगत आवासतर्फ तीन खर्ब ४८ अर्ब ७२ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह भएको छ भने व्यावसायिक घरजग्गा कारोबार (रियलस्टेट)मा दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रूपैयाँ प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७९/८० मा घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ अर्ब २५ करोड ९० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा क्षेत्रमा कुल पाँच खर्ब ६६ अर्ब पाँच करोड ५० लाख रूपैयाँ कर्जा लगानी गरेका थिए । सोमध्ये व्यक्तिगत आवास शीर्षकमा तीन खर्ब ३७ अर्ब ७९ करोड ९० लाख र रियलस्टेट क्षेत्रमा दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रूपैयाँ कर्जा लगानी भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९/८० मा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रूपैयाँ थियो भने कुल कर्जा रकम ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रूपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः ५१ खर्ब ५९ अर्ब १७ करोड ५० लाख र ४७ खर्ब नौ अर्ब ५० करोड रूपैयाँ थियो ।

आर्थिक वर्ष २०७९/८० मा घरजग्गा क्षेत्रमा गएको कर्जामध्ये वाणिज्य बैंकहरूले चार खर्ब ९७ अर्ब ३० करोड ३० लाख रूपैयाँ प्रवाह गरेका छन् । सोमध्ये व्यक्तिगत आवास शीर्षकमा दुई खर्ब ७९ अर्ब ३३ करोड ९० लाख रूपैयाँ र रियलस्टेट क्षेत्रमा दुई खर्ब १७ अर्ब ९६ करोड ४० लाख रूपैयाँ प्रवाह भएको छ । यो अवधिमा वाणिज्य बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम ५० खर्ब ८६ अर्ब २४ करोड ४० लाख र ४३ खर्ब आठ अर्ब ९९ करोड रूपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ४५ खर्ब ४५ अर्ब १५ करोड ७० लाख रूपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये घरजग्गा क्षेत्रमा मात्रै चार खर्ब ७८ अर्ब ७८ करोड ७० लाख रूपैयाँ प्रवाह भएको थियो ।

No description available.

विकास बैंकहरूले २०७९/८० मा घरजग्गा क्षेत्रमा कुल ७९ अर्ब ५२ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा १२ अर्ब १० करोड ५० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरूले घरजग्गा कर्जाबापत ६७ अर्ब ४२ करोड २० लाख रूपैयाँ प्रवाह गरेका थिए । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा विकास बैंकहरूको कुल निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब ७१ अर्ब ५७ करोड ३० लाख एवं चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रूपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप तथा कर्जा रकम क्रमशः पाँच खर्ब नौ अर्ब ४९ करोड र चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रूपैयाँ थियो ।

फाइनान्स कम्पनीहरूले समीक्षा अवधिमा कुल एक खर्ब १३ अर्ब ४२ करोड २० लाख रूपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ९३ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा घरजग्गा क्षेत्रमा मात्रै २१ अर्ब ४८ करोड ३० लाख रूपैयाँ ऋण गएको छ । अघिल्लो आर्थिक वर्षमा फाइनान्सहरूले एक खर्ब चार अर्ब ५२ करोड ८० लाख रूपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ३६ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमा घरजग्गा क्षेत्रमा १९ अर्ब ८८ करोड ५० लाख रूपैयाँ प्रवाह भएको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया