Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकद्वारा आठ महिनामा ५२ अर्ब ६० करोड रूपैयाँ पुनर्कर्जा प्रदान

राष्ट्र बैंकद्वारा आठ महिनामा ५२ अर्ब ६० करोड रूपैयाँ पुनर्कर्जा प्रदान


काठमाडौं, वैशाख २१
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पछिल्लो आठ महिनाको अवधिमा ५२ अर्ब ६० करोड रूपैयाँ पुनर्कर्जा प्रदान गरेको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ बमोजिम २०७६ फागुन मसान्तसम्ममा २७ हजार पाँच सय तीन जना ऋणीहरूमा उक्त परिमाणमा पुुनर्कर्जा प्रदान गरिएको हो ।

यसरी प्रदान गरिएको पुुनर्कर्जामध्ये २२ हजार छ सय ९१ ऋणीहरूलाई प्रवाह भएको ४९ अर्ब ५३ करोड रूपैयाँ व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार २०७५ चैत मसान्तदेखि २०७६ फागुन मसान्तसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थालार्ई प्राथमिकताप्राप्त क्षेत्रतर्फ प्रवाहित असल कर्जाको धितोमा साधारण पुनर्कर्जा ३१ अर्ब ५४ करोड, निर्यात पुनर्कर्जा एक अर्ब ५४ करोड र भूकम्पपीडितलाई प्रदान गरिएको पुनर्कर्जा एक अर्ब ९२ करोड गरी कुल ३५ अर्ब एक करोड ६२ लाख रूपैयाँबराबरकोे पुनर्कर्जा प्रदान गरिएको छ । २०७६ फागुन मसान्तमा साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड, निर्यात पुनर्कर्जा एक अर्ब एक करोड र भूकम्पपीडितलाई प्रदान गरिएको पुनर्कर्जा एक अर्ब ५३ करोड गरी कुल १८ अर्ब ३७ करोड रूपैयाँबराबरको पुनर्कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्थाबमोजिम विभिन्न ११ वटा शीतघर तथा खाद्यान्न भण्डारण घरलाई छ करोड ६८ लाख ब्याज अनुदान प्रदान गरिएको जानकारी समेत राष्ट्र बैंकले दिएको छ । यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले तोकिएका प्राथमिकताप्राप्त क्षेत्रमा न्यूनतम क्रमशः २५ प्रतिशत, १५ प्रतिशत र १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । २०७६ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरूले प्राथमिकताप्राप्त क्षेत्रमा २० दशमलव छ प्रतिशत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया