सेयर धितो कर्जालाई किन पत्याएनन् बैंकहरूले ?
काठमाडौं । सेयरबजार परिसूचक नेप्से २०७९ असार मसान्तमा दुई हजार नौ दशमलव पाँच विन्दुमा कायम थियो । बजारमा उतारचढावबीच एक वर्षपछि २०८० असार मसान्तमा नेप्से दुई हजार ९७ दशमलव एक विन्दुमा पुग्यो । २०८० असार मसान्तमा धितोपत्र बजार पुँजीकरण ३० खर्ब ८२ अर्ब ५२ करोड कायम भएको छ । २०७९ असार मसान्तमा बजार पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोड थियो । २०८० असार मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ५४ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये एक सय ३६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ७९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, सातवटा होटल, छवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका रहेका छन् । २०७९ असारमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ३४ थियो ।
माथिका यी तथ्यांकलाई हेर्दा पछिल्लो एक वर्षमा सेयरबजार सामान्य अंकले बढेको देखिए पनि लगानीकर्तामा उत्साह देखिएन । अर्थतन्त्रमा आएको शिथिलताका कारण बजार चलायमान हुन नसक्दा सेयरबजारले अपेक्षाअनुसार गति नलिएको हो । परिसूचकमा उतारचढाव देखिएको र कारोबार रकम खस्किँदै गएका कारण बजारमा चहलपहल कम देखिएको हो ।
बजारमा देखिएको तीव्र उतारचढावले लगानीकर्ताको मनोबल खस्किएको देखिन्छ । यही कारण पनि हुनसक्छ पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा दिने कर्जा अर्थात् ‘मार्जिन लोन’ घटेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जालाई पत्याएका छैनन् ।
नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक, क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंक र १७ वटा फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा सेयर धितो कर्जा अर्थात् ‘मार्जिन लेन्डिङ’ शीर्षकमा ७६ अर्ब ५३ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको कर्जाभन्दा करिब पाँच प्रतिशत अर्थात् तीन अर्ब ९७ करोड ३० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ८० अर्ब ५० करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० वाणिज्य बैंकहरूले मात्रै मार्जिन लेन्डिङ शीर्षकमा ५८ अर्ब ६७ करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरूले प्रवाह गरेको यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब १४ करोड रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरूको यस्तो कर्जा रकम ६४ अर्ब ८१ करोड ९० लाख रूपैयाँ थियो । विकास बैंकहरूले भने पछिल्लो अवधिमा मार्जिन लेन्डिङ शीर्षकमा १४ अर्ब १६ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा आर्थिक वर्ष २०७८/७९ को तुलनामा दुई अर्ब ३९ करोड २० लाख रूपैयाँले कम हो । उक्त अवधिमा विकास बैंकहरूको यस्तो कर्जा रकम ११ अर्ब ७७ करोड ३० लाख रूपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूले भने आर्थिक वर्ष २०७९/८० मा मार्जिन लेन्डिङ शीर्षकमा तीन अर्ब ६९ करोड १० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २२ करोड ४० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा रकम तीन अर्ब ९१ करोड ५० लाख रूपैयाँ थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग
- हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
- सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला
- १९औँ एसियाली खेलकुद : नेपालले महिला फुटबलमा बङ्लादेशसित बराबरी खेल्यो
- राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन
- सूचनाको हकलाई दुरुपयोग गर्न हुन्न : सभामुख घिमिरे
- नेपाल क्रिकेट: कीर्तिमानी ब्याटर दीपेन्द्र र कुशलको कहानी यस्तो !
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया