Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपर्यटकीय क्षेत्रमा बैंकहरूको दुई खर्ब ११ अर्ब रुपैयाँ कर्जा

पर्यटकीय क्षेत्रमा बैंकहरूको दुई खर्ब ११ अर्ब रुपैयाँ कर्जा


काठमाडौं । पर्यटकीय अर्थात् होटल तथा रेस्टुरेन्ट क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संंस्थाले आर्थिक वर्ष २०७९/८० मा होटल तथा रेस्टुरेन्ट क्षेत्रमा मात्र कुल दुई खर्ब ११ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो अर्थात् आव २०७८/७९ को तुलनामा १० अर्ब ६६ करोड ५० लाख रुपैयाँले बढी हो । उक्त अवधिमा बैंकिङ क्षेत्रको होटल तथा पर्यटन क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम दुई खर्ब ४९ करोड ४० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा होटल तथा पर्यटन क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकममध्ये वाणिज्य बैंकहरुले मात्र एक खर्ब ८२ अर्ब २६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा छ अर्ब ६३ करोड १० लाख रुपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकहरुको यस्तो कर्जा एक खर्ब ७५ अर्ब ६३ करोड ८० लाख रुपैयाँ थियो ।

विकास बैंकहरुले पनि होटल तथा पर्यटन क्षेत्रमा २४ अर्ब २१ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा तीन अर्ब ७७ करोड २० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा विकास बैंकहरुको यस्तो कर्जा २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

फाइनान्स कम्पनीहरुले पनि गत असार मसान्तसम्म होटल तथा पर्यटन क्षेत्रमा चार अर्ब ६७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको तुलनामा २६ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष फाइनान्स कम्पनीहरुको यस्तो कर्जा चार अर्ब ४१ करोड ३० लाख रुपैयाँ थियो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा लघुवित्तबाहेक समग्र बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ७३ अर्ब ८० करोड ७० लाख रुपैयाँ छ । जसमध्ये वाणिज्य बैंकको ४३ खर्ब आठ अर्ब ९९ करोड, विकास बैंकहरुको चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख र फाइनान्स कम्पनीहरुको ९२ अर्ब ९३ करोड १० लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४७ खर्ब नौ अर्ब पाँच करोड रुपैयाँ थियो ।

उक्त कर्जामध्ये वाणिज्य बैंकको ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख, विकास बैंकहरुको चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख र फाइनान्स कम्पनीहरुको ८६ अर्ब ३६ करोड रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा लघुवित्त वित्तीय संस्थाबाहेककको समग्र बैंकिङ क्षेत्रको कुल निक्षेप रकम ५७ खर्ब ७१ अर्ब २३ करोड ८० लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षमा समग्र बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब ५९ अर्ब १७ करोड ५० लाख रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया