Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबैंकमा ऋण माग्न जानै छाडे व्यवसायी

बैंकमा ऋण माग्न जानै छाडे व्यवसायी

असारयता १४ अर्ब मात्र ऋण प्रवाह


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा साढे ११ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको छ । तर, अहिले अर्थतन्त्रमा देखिएको मन्दी र बढ्दो ब्याजदरका कारण कर्जाको माग न्यून छ । चालू आर्थिक वर्ष सुरु भएयताको बैंकहरूले प्रवाह गरेको कर्जाको तथ्यांक हेर्दा यस वर्ष पनि कर्जा विस्तारको लक्ष्य पूरा हुने देखिँदैन ।

साउनमा कर्जाको माग नदेखिए पनि भदौमा केही बढेको बैंकरले बताएका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले प्रवाह गरेको नयाँ कर्जाको आँकडा निकै न्यून छ । असार मसान्तयता बैंक तथा वित्तीय संस्थाको कर्जा जम्मा १४ अर्ब रुपैयाँले बढेको छ । असार मसान्तमा ४८ खर्ब ७९ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा भदौ २७ गतेसम्म ४८ खर्ब ९३ अर्ब रूपैयाँ पुगेको छ । दुई महिनामा जम्मा १४ अर्ब रुपैयाँले मात्रै कर्जा बढ्नुले आन्तरिक अर्थतन्त्रमा अझै सुधार आई नसकेको स्पस्ट हुन्छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदर घटाएर कर्जाको माग बढाउनुपर्ने भन्दै विभिन्न समयमा राष्ट्र बैंकका गभर्नर र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै आएका छन् । उनले असोजमा ब्याजदर घटाउने सर्तमा बैंकहरूलाई स्थानीय तहको खातामा रहेको पैसाको ६० प्रतिशत निक्षेप गणना गर्न पाउने सुविधा दिएका छन् । यद्यपि स्थानीय तहको पैसा निक्षेपमा गणना गर्ने व्यवस्थाले मात्रै ब्याजदर घट्ने सम्भावना देखिँदैन । किनभने असार मसान्तअघि बैंकहरूले स्थानीय तहको ८० प्रतिशत पैसा निक्षेपमा गणना गर्न पाएका थिए । अहिले पनि करिब ३० अर्ब रुपैयाँ हाराहारी निक्षेपमा थपिने देखिन्छ । तर, वित्तीय क्षेत्रका लागि यो खासै ठूलो रकम होइन ।

बैंकहरूले अर्थमन्त्रीको सर्त पूरा गर्न असोजमा ब्याज घटाइहाले पनि निकै कम विन्दुले घटाउने सम्भावना छ । किनभने बैंकहरू खराब कर्जा बढेका कारण थप कर्जा विस्तार गर्ने पक्षमा छैनन् । गत असार मसान्तको तुलनामा निक्षेप घटेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार असार मसान्तयता बैंक तथा वित्तीय संस्थाको निक्षेप एक खर्ब २९ अर्बले घटेको देखिन्छ । यसरी निक्षेप घट्नुमा स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउनु रहेको बैंकरले बताउँदै आएका छन् । असार मसान्तमा ५७ खर्ब ७० अर्ब पुगेको बैंकहरूको निक्षेप अहिले ५६ खर्ब ४१ अर्बमा झरेको छ । यही कारण पनि बैंकहरू थप कर्जा विस्तार गर्न सकिरहेका छैनन् । अर्कोतर्फ राष्ट्र बैंकले घरजग्गा तथा सेयरबजारजस्ता सट्टेबाजी बजारमा कर्जा धेरै प्रवाह नहोस् भन्ने किसिमले नीतिगत व्यवस्था गरेको छ ।

पछिल्लो समय नेपालमा उद्यम गर्नेभन्दा पनि वस्तु आयात गरी व्यापार गर्ने प्रवृत्ति बढेका कारण उद्यमसम्बन्धी परियोजनाका लागि कर्जाको माग ज्यादै न्यून छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले उद्यम कार्यका लागि कर्जाको माग आउनै छाडेको बताए । खालि व्यापार र आयातका लागि मात्रै कर्जा आउँदा वित्तीय क्षेत्र नै जोखिममा पर्नसक्ने उनको भनाइ छ । उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार नहुँदासम्म नेपालको अर्थतन्त्र जोखिममा हुने उनले बताए । अहिले वित्तीय क्षेत्रबाट भइरहेको कर्जा जनशक्ति उत्पादनमा प्रयोग हुनुपर्नेमा सट्टेबाजीमा मात्रै केन्द्रित भएको बताए । उनले भने, ‘जनशक्ति उत्पादन हुनुपर्नेमा सट्टेबाजीमा प्रयोग भएर देश उँभो लाग्दैन । केही दलाल व्यक्तिहरू, सीमित व्यक्तिहरूको हातमा अर्थतन्त्र गयो ।’ विलाशिताका वस्तु मात्रै आयात गर्ने र फाइदा लिनेहरूले मात्रै राज्यको स्रोत प्रयोग गर्ने हो भने अर्थतन्त्रमा कहिल्यै पनि सुधार नहुने उनले बताए । जग्गा ‘प्लटिङ’ र सट्टेबाजीका लागि मात्रै बैंकहरूको ५० खर्ब पैसा प्रयोग भएकाले तत्काल अर्थतन्त्रमा सुधार आउने सम्भावना कम रहेको उनको भनाइ छ ।

थापाले भनेजस्तै बैंकहरूले प्रवाह गरेको कर्जामध्येको ठूलो हिस्सा घरजग्गा, गाडी, सेयरबजार र आयातका लागि प्रयोग हुँदै आएको छ । अहिले पनि बैंकहरू चाडपर्व नजिकिएकाले आयातका लागि ठूलो कर्जा जाने हिसाब गरेर बसिरहेका छन् । असारको तुलनामा साउन मसान्तमा १५ अर्ब घटेको कर्जा भदौमा करिब ३० अर्बले बढेको देखिन्छ । चाडपर्वलक्षित सामान ल्याउनका लागि एलसी खुल्ने क्रम बढेपछि भदौमा कर्जा प्रवाह केही बढेको बैंकहरूले बताएका छन् । अन्य क्षेत्रमा अझै कर्जाको माग देखिएको छैन । त्यसले अब कर्जाकोे माग पनि सिजनल हुने अनुमान बैंकहरूले गरेका छन् ।

एलसी खोल्नका लागि प्रवाह भएको ३०/४० अर्बले अर्थतन्त्रलाई चलायमान बनाउन नसक्ने बैंकिङ क्षेत्रका विज्ञहरू बताउँछन् । राष्ट्र बैंककै कर्जा विस्तारको लक्ष्य पूरा हुन पनि मासिक एक प्रतिशत कर्जा वृद्धि हुनुपर्छ । तर असार मसान्तयता जम्मा १४ अर्ब मात्रै बढेको देखिन्छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुनेभन्दा अझै केही समय मन्दीमा नै रहन सक्छ ।

महँगीले उपभोक्ताको खर्च गर्ने क्षमता खस्किँदा बजारमा माग पक्ष कमजोर भएको छ । माग नै घटेपछि उद्योगहरू पनि कम क्षमतामा चलिरहेका छन् । औद्योगिक उत्पादन घटेको छ । उत्पादन घटेपछि त्यस क्षेत्रमा कर्जाको माग पनि घटेर गएको छ । बजारमा वस्तु बिक्री हुने स्थिति नै नरहेपछि उद्योगीहरूले थप कर्जा लिने आँट गर्न सकेका छैनन् ।

बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त देखिन्छ । बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरेर कर्जा विस्तार गर्न पाउँछन् । अहिले बैंकहरूको सीडी रेसियो ८३ दशमलव ६९ प्रतिशत छ । यसले अझै बैंकहरू छ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्ने क्षमतामा छन् भन्ने देखाउँछ । राष्ट्र बैंकले लिएको कर्जा विस्तारको लक्ष्यअनुसार कर्जा प्रवाह गर्नसक्ने क्षमता रहे पनि माग नै नभएपछि कर्जा प्रवाह गर्न नसकिएको बैंकरको भनाइ छ । यही कारण केन्द्रीय बैंकले लचक नीति नलिए कर्जा विस्तारको लक्ष्य पूरा नहुने र सरकारले लिएको छ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य समेत हासिल नहुने देखिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया