बैंकमा ५७ खर्ब ५७ अर्ब थुप्रियो
काठमाडौं । बैंकिङ प्रणालीमा अहिले ५७ खर्ब ५७ अर्ब रूपैयाँ निक्षेप छ । यो रकम बैंकिङ प्रणालीमा असोज आठ गते सोमबारसम्म कायम रहेको निक्षेप हो । राष्ट्र बैंकका अनुसार यो निक्षेपमा वाणिज्य बैंकहरूको मात्र हिस्सा ५० खर्ब ७६ अर्ब रूपैयाँ छ । विकास बैंक र फाइनान्स कम्पनीहरूमा छ खर्ब ८० अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ ।
यस अवधिमा बैंकिङ क्षेत्रको कुल कर्जा ४९ खर्ब २१ अर्ब रूपैयाँ छ । यो कर्जामा वाणिज्य बैंकहरूको हिस्सा ४३ खर्ब ५४ अर्ब रूपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरूको हिस्सा पाँच खर्ब ६७ अर्ब रूपैयाँ छ । बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहसम्बन्धी राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरू अनिवार्य नगद मौज्दात, रिजर्भ कोष आदिमा रकम राखेर पनि अझै चार खर्ब रूपैयाँको हाराहारीमा कर्जा दिन सक्ने अवस्थामा छन् । यसो भन्नुको अर्थ बैंकिङ प्रणालीमा अहिले चार खर्ब रूपैयाँभन्दा बढी लगानीयोग्य रकम छ ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम भए पनि अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्योगी व्यवसायीहरूको व्यावसायिक मनोबल खस्किएको छ । बजारमा आर्थिक गतिविधि कम हुँदा नयाँ कर्जाको माग भएको छैन । एकातिर कर्जाको माग नहनु र अर्कोतर्फ बैंकमा निक्षेप थुप्रिँदा पैसाको माग र आपूर्तिमा समस्या देखिन सक्छ । बैंकिङ प्रणालीमा भएको लगानीयोग्य रकमको दुरूपयोग हुने सम्भावना बढ्न सक्छ । यही अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारको लागि उठाउनुपर्ने कुल आन्तरिक ऋणको सार्वजनिक भएको निष्कासन तालिका नै संशोधन गरेको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए ।
चालू आर्थिक वर्षमा उठाउनुपर्ने कुल दुई खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋणलाई यथावत् राख्दै राष्ट्र बैंकले समयसीमा र उठाइने ऋण रकम मात्र संशोधन गरेको उनको भनाइ छ । संशोधित आन्तरिक ऋण निष्काशन तालिकाअनुसार राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् यही असोज मसान्तम्ममा ८० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउनेछ । यो ऋण भनेको चालू आर्थिक वर्षमा उठाइने कुल आन्तरिक ऋणको ३३ दशमलव तीन प्रतिशत हो । संशोधन अघि भने राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ अर्ब अर्थात् कुल आन्तरिक ऋणको २२ दशमलव नौ प्रतिशत ऋण उठाउने गरी तालिका सार्वजनिक गरेको थियो । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा पनि राष्ट्र बैंकले कुल आन्तरिक ऋणको १२ दशमलव पाँच प्रतिशतले हुन आउने ३० अर्ब रूपैयाँ उठाउने भएको छ ।
संशोधन अघि चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ दशमलव नौ प्रतिशत अर्थात् ५५ अर्ब रूपैयाँबराबरको आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना थियो । तर, अहिले बैंकिङ प्रणालीमा नयाँ कर्जाको माग जुन रूपमा हुनुपर्ने थियो, त्यो रूपमा भएको छैन । यसो हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढेको छ । अर्कोतर्फ निक्षेप बढेको आधारमा बैंकिङ प्रणालीमा कर्जाको ब्याज पनि केही कम भएको छ । अर्थतन्त्रको यही अवस्था समेतलाई ध्यानमा राखेर आन्तरिक ऋण निष्कासन तथा संशोधन गरिएको सहायक प्रवक्ता पोखरेलले बताए । उनका अनुसार बैंकिङ प्रणालीमा तरलता बढेकै कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा उठाउने ऋणको केही प्रतिशत रकम चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नै उठाउन लागिएको हो ।
चालू आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा उठाइने कुल आन्तरिक ऋण निष्कासन तालिकामा भने कुनै फेरबदल गरिएको छैन । यी दुई त्रैमासमा पूर्ववत्रूपमा नै क्रमशः २२ दशमलव एक र ३२ दशमलव एक प्रतिशत अर्थात् ५३ अर्ब र ७७ अर्ब रूपैयाँबराबरको आन्तरिक ऋण उठाइने सहायक प्रवक्ता पोखरेलले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1
ताजा अपडेट
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
- दिगो पूर्वाधार विकासबाट मात्रै आर्थिक समृद्धि हासिल हुन्छ : मन्त्री ज्वाला
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया