Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारथेग्नै नसक्ने मूल्यवृद्धि

थेग्नै नसक्ने मूल्यवृद्धि


काठमाडौं । आम सर्वसाधारणले थेग्नै नसक्ने गरी मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको पछिल्लो दुई महिनाको आर्थिक तथा वित्तीय स्थितिमा मूल्यवृद्धि आठ दशमलव १९ प्रतिशत पुगेको उल्लेख छ । यसले आम सर्वसाधारणको दैनिकी अति कष्टकर बन्दै गएको देखाउँछ । सरकारले चालू आर्थिक वर्ष २०८०÷०८१ मा मूल्यवृद्धि छ दशमलव पाँच प्रतिशतभन्दा माथि नजाने बजेट वक्तव्यमा उल्लेख गरेको थियो । चालू आवको पहिलो महिना अर्थात् साउनको मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत थियो ।

सबै वस्तु तथा सेवामा मूल्यवृद्धिको ग्राफ उकालो लागेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यही दरमा मूल्यवृद्धि हुँदा आगामी महिनाहरुमा आम सर्वसाधारणको दैनिकी झनै कष्टकर हुने देखिएको छ । यद्यपि सरकारले अहिले चाडपर्व भएको कारण वस्तु तथा सेवामा मूल्यवृद्धि भए पनि यो क्रमशः कम हुँदै जाने दाबी गरेको छ ।

तथ्यांकअनुसार मरमसलाको मूल्य ४५ दशमलव ४६ प्रतिशतसम्मले बढेको छ । त्यस्तै, चिनी तथा चिनीजन्य वस्तुमा १७ दशमलव ८६ प्रतिशत मूल्यवृद्धि भएको छ । यस्तै तरकारीमा १४ दशमलव ५१, खाद्य तथा खाद्यजन्य पदार्थमा १३ दशमलव ३८ र दुग्ध पदार्थ तथा अण्डामा १२ दशमलव ६० प्रतिशत मूल्य बढेको छ । यो अवधिमा घ्यू तथा तेलको मूल्य भने १३ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ५५ प्रतिशत, विविध वस्तु तथा सेवाहरु १२ दशमलव २१ प्रतिशत, शिक्षा क्षेत्रमा नौ दशमलव १० प्रतिशत, घरायसी उपयोगका वस्तुमा आठ दशमलव ११ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणमा छ दशमलव ५९ प्रतिशतले मूल्य बढेको छ । भदौ मसान्तसम्ममा यातायात क्षेत्रको मुद्रस्फीति शून्य दशमलव १८ प्रतिशतले घटेको छ ।

काठमाडौं उपत्यकामा मूल्यवृद्धि नौ दशमलव ८३ प्रतिशत, तराईमा सात दशमलव शून्य ३ प्रतिशत, पहाडको आठ दशमलव सून्य नौ प्रतिशत र हिमालको ११ दशमलव ३२ प्रतिशत भएको छ ।

मूल्यवृद्धिको ग्राफ उकालो लागेको कारण मुलुकको समग्र आन्त्रिक अर्थतन्त्रको दबाबमा परेको देखिएकोे छ । यद्यपि बाह्य क्षेत्रमा थप सुधार हुँदै गएको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्स, शोधनान्तर बचत र विदेशी मुद्र्राको सञ्चिति बढ्दा अर्थतन्त्रका बाह्य क्षेत्र थप मजबुत बन्दै गएको हो । तर, कर्जा वृद्धि सुस्त भएको र आर्थिक क्रियाकलाप खुम्चिँदै जाँदा आन्तरिक अर्थतन्त्रमा भने उच्च दबाब कायमै छ । महँगी बढ्दै जाँदा उपभोक्ताको क्रयशक्तिमा आएको गिरावटले बजारमा माग बढ्न सकेको छैन । सरकारले पुँजीगत खर्च बढाउन सकेको छैन भने लक्ष्यअनुसार राजस्व समेत उठेको छैन ।

तर, राष्ट्र बैंकले दुई साताअघि कार्यान्वयनमा ल्याएको नीतिगत व्यवस्था, कर्जासम्बन्धी नीतिले आन्तरिक अर्थतन्त्रमा सुधार हुने अपेक्षा गरिएकोे छ । बाह्य क्षेत्र मजबुत बने पनि मूल्य वृद्धिले उपभोक्ताको क्रयशक्ति घटेका कारण अर्थतन्त्रको आन्तरिक क्षेत्र अझै दबाबमा छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार भदौ मसान्तसम्म रेमिट्यान्स आप्रवाह बढेको छ । शोधनान्तर स्थिति र चालू खाता बचतमा छ भने विदेशी मुद्रा सञ्चितिले करिब एक वर्षको वस्तु आयात धान्ने देखिएको छ । मूल्यवृद्धि भने आठ प्रतिशतभन्दा माथि पुगेको छ ।

बढ्यो रेमिट्यान्स : राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म दुई खर्ब २८ अर्ब ३७ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव एक प्रतिशत बढी हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७ दशमलव सात प्रतिशतले बढेर एक अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्समा सुधार देखिँदा अर्थतन्त्र सहज बन्दै जाने राष्ट्र बैंकले बताएको छ ।

गत साउनमा भन्दा भदौमा रेमिट्यान्स आप्रवाह घटेको छ । साउनमा एक खर्ब १६ अर्ब दुई करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको थियो भने भदौमा एक खर्ब १२ अर्ब ३५ करोड रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएको छ ।

साउनमा र भदौमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २८ दशमलव तीन प्रतिशतले घटेर ७४ हजार चार सय ५५ कायम भएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि १८ दशमलव तीन प्रतिशतले घटेर ३२ हजार चार कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७० दशमलव छ प्रतिशतले बढेको थियो । चालू आर्थिक वर्षको दुई महिनामा खुद ट्रान्सफर २१ दशमलव नौ प्रतिशतले वृद्धि भई दुई खर्ब ५१ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १९ दशमलव पाँच प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

चालू खाता र शोधनान्तर बचतमा
चालू खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ । भदौ मसान्तसम्म चालू खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३६ अर्ब ८४ करोडले घाटामा थियो ।

अमेरिकी डलरमा गतवर्ष भदौमा चालू खाता २८ करोड ९० लाखले घाटामा रहेकोमा यस वर्ष भदौ मसान्तसम्म १७ करोड ७७ लाखले बचत भएको छ ।

यस्तै, शोधनान्तर स्थिति ५३ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ८१ करोड रुपैयाँले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १६ करोड ३४ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४० करोड ५६ लाखले बचतमा छ ।

पुँजीगत ट्रान्सफर ४१ दशमलव सात प्रतिशतले कमी आई ८५ करोड आठ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्बले धनात्मक छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ४६ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८० करोड ९७ लाखले ऋणात्मक थियो ।

विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु आयात धान्ने
मुलुकको विदेशी मुद्रा सञ्चितिले एक वर्षको वस्तु आयात धान्न सक्ने देखिएको छ । गत असार मसान्तसम्ममा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँबराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन दशमलव नौ प्रतिशतले बढेर भदौ मसान्तसम्ममा १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १४ खर्ब छ अर्ब ५२ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति एक खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ छ ।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव ७ प्रतिशत छ । चालू आर्थिक वर्षको दुई महिनाको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चितिले १२ महिना १८ दिनको वस्तु आयात र १० महिना नौ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

सेवा आय घाटामा : भदौ मसान्तसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँले घाटामा देखिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १९ अर्ब २६ करोडले घाटामा थियो ।

भ्रमण आय ५३ दशमलव नौ प्रतिशतले बढेर नौ अर्ब ३४ ककरोड रुपैयाँ कायम छ । गतवर्षको भदौमा यस्तो आय छ अर्ब सात करोड रुपैयाँ थियो ।

भ्रमण आयभन्दा भ्रमण व्यय बढी छ । समीक्षा अवधिमा भ्रमण व्यय ७६ दशमलव पाँच प्रतिशत बढेर ३५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । जसमध्ये वैदेशिक शिक्षामा मात्रै २३ अर्ब ३३ करोड रुपैयाँ खर्च भएको छ । अघिल्लो वर्ष भदौमा भ्रमण व्यय २० अर्ब १६ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फकोे व्यय १२ अर्ब ७६ करोड रुपैयाँ थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया